Home मुख्य समाचार समयसिमा सकिन लाग्दा ६९ वटा सहकारीले मात्रै प्रतिवेदन बुझाए

समयसिमा सकिन लाग्दा ६९ वटा सहकारीले मात्रै प्रतिवेदन बुझाए

हेटौँडा उपमहानगरपालिका ।

हेटौंडा : चैत्र मसान्त नजिकिँदा पनि हेटौंडा उपमहानगरपालिकाभित्र सञ्चालित सहकारी सँंस्थाहरु मध्ये ६९ वटा सहकारी संस्थाले मात्र साधारणसभा सम्पन्न गरी उपमहानगरपालिकामा प्रतिवेदन पेश गरेका छन् । हाल हेटौँडा उपमहानगरपालिकाभित्र १ सय ४१ वटा सक्रिय सहकारी संस्थाहरु सञ्चालनमा रहेकोमा यस आर्थिक वर्षको चैत्रसम्ममा जम्मा ६९ वटा सहकारीले साधारणसभा मार्फत पारित प्रतिवेदन पेश गरेका हुन् ।

साधारणसभा सम्पन्नको प्रतिवेदन बुझाउनेमा बचत तथा ऋण सहकारी संस्थाहरु ३८ वटा रहेको छन् । यस्तै १६ वटा कृषि सहकारी संस्थाहरुले, ६ वटा दुग्ध सहकारीहरु तथा ६ वटा बहुउद्देश्यीय सहकारी संस्थाहरुले मात्र प्रतिवेदन पेश गरेका छन् । यद्यपी वार्षिक प्रतिवेदन र्नै नबुझाएपनि अनलाइनबाट ८५ वटा सहकारी संस्थाहरुले आफ्ना समष्टिगत विवरण भने पेश गरेका उपमहानगरपालिकाको सहकारी नियमन शाखाले जनाएको छ । प्रत्येक वर्ष आर्थिक वर्ष सुरु भएको ६ महिनाभित्र साधारण सम्पन्न गरी सभामार्फत पारित गरिएको प्रतिवेदन स्थानीय तहमा बुझाउनपर्ने नियम रहेको छ । विविध कारणले समयसिमाभित्र साधारणसभा सम्पन्न गर्न नसकेमा थप डेढ महिनामा लेखापरीक्षणसहित वार्षिक साधारणसभामार्फत पास भएको प्रतिवेदन पालिकामा बुझाउनुपर्ने हुन्छ । हेटौँडा उपमहानगरपालिकाभित्र कुल १ सय ९८ वटा सहकारी संस्थाहरु रहेकामध्ये सक्रिय सहकारीहरु १ सय ४१ वटा रहेका छन् ।

अघिल्ला वर्षहरुमा असोज र कात्तिकभित्र साधारणसभा सम्पन्न गरी मंसिर मसान्तसम्ममा ५० प्रतिशत भन्दा अधिकांशले पालिकासमक्ष प्रतिवेदन पेश गरिसकेका हुन्थे तर यस वर्ष जेनजी आन्दोलनको कारण असोज तथा कात्तिकको आधाआधी सम्म साधारणसभाहरु सम्पन्न गर्न सकेका थिएनन् । सहकारी संस्थाहरुको संख्या बढी देखिए पनि प्रतिवर्ष सक्रिय रुपमा काम सम्पन्न गरी वार्षिक प्रतिवेदन नगर कार्यालयमा बुझाउने सहकारीको संख्या कमै मात्र रहेका उपमहानगरपालिका सहकारी नियमन शाखाका कर्मचारी महेन्द्र चापागाइले गर्नुभएको छ । यसैगरी कतिपयले अनलाइन माध्यमबाट आफ्ना वस्तुस्थिती जनाइसकेकाले प्रतिवेदन विस्तारमा प्राप्त हुने उहाँको भनाइ छ ।

हेटौंडामा रहेका सहकारीहरु मध्ये ५७ वटा निष्कृय रहेको हेटौंडा उपमहानगरपालिकाको सहकारी शाखाले जनाएको छ । पालिकाभित्र हाल सबैभन्दा बढी संख्या बचत तथा ऋण सहकारीको संख्या ८९ भएपनि यि मध्ये १६ वटा बचत तथा ऋण सहकारी संस्थाहरु निष्कृय अवस्थामा छन् । यस्तै दोस्रोमा कृषि सहकारी संस्था छन् । पालिकाभित्र हाल ५३ वटा कृषि सहकारीहरु रहेका छन् । यद्यपी २० वटा कृषि सहकारी संस्थाहरु निष्कृय देखिन्छ । यस्तै तेस्रोमा बहुउद्देश्यीय सहकारीहरु छन् ।

पालिकामा २० वटा बहुउद्देश्यीय सहकारीहरु दर्ता भएकामा हाल ७ वटा निष्कृय अवस्थामा छन् । यस्तै पालिकाभित्र उपभोक्ता सहकारीहरु ८ वटा, जडिबुटी सहकारी ५ वटा, दुग्ध सहकारी १ गरि ५७ वटा सहकारीहरु निष्कृय अवस्थामा रहेका छन् । पालिकामा सक्रिय रहेका १ सय ४१ वटा रहेका छन् । यि सहकारीहरुमा हाल ९४ करोड २३ लाख १ हजारको कुल शेयर पूँजी रहेको छ । यस्तै यि सहकारीहरुका ६ अर्ब २० करोड ६ लाख ९२ हजार रुपैया निक्षेप बचत रहेको रहेको छ भने यि सहकारीहरुले हाल ६ अर्ब ४० करोड ७३ लाख ७० हजार रुपैयाँ ऋण लगानी गरिएको हेटौंडा उपमहानगरपालिकाले जनाएको छ ।

यि सबै सहकारी संस्थाहरुको कुल सम्पति ९ अर्ब ११ करोड ४६ लाख १० हजार रुपैयाँ रहेको हेटौंडा उपमहानगरपालिकाको सहकारी शाखाले जानकारी दिएको छ । यि संस्थाहरुमा १ लाख १५ हजार ५५ जना शेयर सदस्यहरु रहेका छन् । यि उपमहानगरपालिकाभित्रका सहकारीहरुमध्ये ५० करोड भन्दा बढी शेयर पूँजी भएका ३ वटा संघीय सरकारको नियमनमा रहने व्यवस्था छ भने ७ वटा २५ करोड देखि ५० करोड बिचमा शेयर पूँजी रहेकाले प्रदेशको नियमन तथा नियन्त्रणमा रहेका छन् भने बाँकी २५ करोड भन्दा कम शेयर पूँजी भएका सबै सहकारीहरु हेटौंडा उपमहानगरपालिकाले नै नियमन गर्दै आएको छ । पछिल्लो समय पालिकाभित्र डिजिटल रुपमा एकिकृत प्रणालीको रुपमा रहेको सहकारी तथा गरिबी सम्बन्धी व्यवस्थापन सुचना प्रणाली (कोपोमिस) मार्फत १ सय ४६ सहकारी सञ्जालमा आबद्ध समेत भइसकेका छन् ।