Home मुख्य समाचार बागमतीको ८०० बढी विद्यालयमा नर्स सेवा, दुर्गममा टिक्दैनन् नर्स

बागमतीको ८०० बढी विद्यालयमा नर्स सेवा, दुर्गममा टिक्दैनन् नर्स

हेटौँडा–९ स्थित प्रगति माविमा विद्यार्थीको कानको उपचार गर्दै विद्यालय नर्स सवनम श्रेष्ठ ।

हेटौँडा : बागमती प्रदेशको ८०० भन्दा बढी माध्यमिक विद्यालयमा नर्सिङ सेवाको पहुँच पुगेको छ । विद्यालय तहबाटै बालबालिकालाई सन्तुलित र पोषिलो खानेकुराका साथै स्वास्थ्य सजगता अपनाउन उत्प्रेरित गर्दै स्वास्थ्य, सरसफाइ र पोषण प्रवद्र्धन गर्न विद्यालयमा नर्स राखिएको हो ।

बागमती प्रदेशका ८४८ माध्यमिक विद्यालयमा नर्सिङ सेवा उपलब्ध छ । प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार बागमती प्रदेशका १३ जिल्लाका ११९ वटै पालिकालाई विद्यालय नर्स कार्यक्रमले समेटेको छ । सहरी क्षेत्रदेखि ग्रामीण भेगका माध्यमिक विद्यालयमा करार सेवामा नर्स नियुक्त गरी खटाइएको मन्त्रालयले जनाएको छ ।

किशोर–किशोरीको यौन तथा प्रजनन स्वास्थ्य सुधारलाई मध्यनजर गर्दै तत्कालीन सरकारले २०७५ बाट ‘एक विद्यालय एक नर्स’ कार्यक्रम सञ्चालनमा ल्याएको हो । पहिलो चरणमा छनौट गरिएका १३ जिल्लाका २० विद्यालयमा यो कार्यक्रम सञ्चालन गरिएको थियो । उक्त कार्यक्रम कार्यान्वयनका लागि प्रदेश सरकारको तत्कालिन सामाजिक विकास मन्त्रालयले ‘एक प्रदेश एक नर्स’ कार्यक्रम सञ्चालन कार्यविधि, २०७५ जारी गरेको थियो । तत्कालीन समयमा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री युवराज दुलालले सो कार्यक्रमलाई प्रदेश सरकारको प्रमुख कार्यक्रमको रूपमा अघि सारेका थिए । नागरिकमा सकारात्मक र प्रभावकारी नतिजा प्रदान गर्ने उद्देश्य अनुसार सो कार्यक्रम अघि बढाइएको थियो ।

प्रदेशको विकट तथा दुर्गम क्षेत्रका विद्यालयहरुमा नर्सको पद रिक्त रहेका छन् । प्रदेशको ६१ विद्यालयमा नर्सहरुले विभिन्न कारणले जागिर छाडेका छन् । स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका अनुसार नगरपालिका क्षेत्र भन्दा गाउँपालिकाहरुमा नियुक्त गरिएका नर्सहरुले जागिर छाडेका छन् । गत पुससम्म १०० को संख्यामा नर्सहरु रिक्त रहेको भएपनि हाल ६१ विद्यालयमा मात्र नर्स सेवा रिक्त रहेको निर्देशनालयले जनाएको छ । रिक्त रहेका विद्यालयमा निर्देशनालय मार्फत् प्रक्रियागत रुपमा छनौट गरी नर्सहरुलाई नियुक्त दिने काम भइरहेको निर्देशनालयका निर्देशक नरेन्द्र झाले जानकारी दिनुभयो । हालै मात्र केही नर्सहरुलाई नियुक्ति दिएर सम्बन्धित स्थानीय तहको विद्यालयमा खटाइएको उहाँले बताउनुभयो । रिक्त रहेका ६१ विद्यालयमा पनि क्रमिक रुपमा यसै वर्ष नर्स पठाउने काम भइरहेको उहाँले बताउनुभयो ।

निर्देशनालयको तथ्यांक विश्लेषण गर्दा नगरपालिकाका विद्यालयको तुलनामा गाउँपालिकाको विद्यालयमा नर्सहरु टिकाउन कठिन रहेको उहाँको भनाई छ । विद्यालय नर्सहरु विदेशिने क्रम बढिरहेकाले उनीहरुले जागिर छाड्ने गरेको निर्देशक झाको भनाई छ । ग्रामिण क्षेत्रका विद्यालयमा काम गर्न कठिन रहेकाले पनि नर्सहरु शहर, बजार पायक क्षेत्रमा आकर्षित हुने गरेको देखिएको उहाँले बताउनुभयो । तथ्यांक अनुसार ३३ गाउँपालिका र एक नगरपालिकाका विद्यालयमा नर्स छैनन् । काभ्रेको २, सिन्धुपाल्चोकको ६, दोलखा ६, रसुवाको ३, धादिङको ६, रामेछापको ५, ललितपुरको १, नुवाकोटको ४ गाउँपालिकामा नर्स छैनन् भने नुवाकोटको एक नगरपालिकामा पनि नर्स रिक्त रहेको छ ।