दुर्घटनाग्रस्त लरी ट्रकलाई हटाएपछि दुईतर्फी सडक सुचारु भएसँगै गन्तव्यतर्फ जाँदै सवारी साधनहरु ।

हेटौंडाः पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुर र बारा जिल्लाको सीमाक्षेत्र चुरियामाईमा कन्टेनर लोड भएको लरी ट्रक दुर्घटना हुँदा अवरुद्ध भएको राजमार्ग दुईतर्फी खुलेको छ । सडकमा तेर्सिएर पल्टिएको लरी ट्रक हटाएर दुईतर्फी सञ्चालनमा आएको मकवानपुर प्रहरीले जनाएको छ ।

बिहीबार बिहान १० बजेको समयमा वीरगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको प्र २ ०३–००१ ख ६७३८ नम्बरको कन्टेनर लोड लरी ट्रक पल्टिएको हो । दुईतर्फी सडक अवरुद्ध भएपछि प्रहरीले क्रेनको माध्यमबाट लरी ट्रकलाई हटाएर मन्ध्यान्ह करिब १२ बजे एकतर्फी सडक खुलाएको थियो । सडक एकतर्फी खुलाइएको करिब ३० मिनेटपछि नै सडक दुईतर्फी खुला गरिएको थियो ।

ट्रक चालक मनहरी गाउँपालिका–३ का ३० वर्षीय महेश मोक्तान घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालले जानकारी दिनुभयो । मोक्तानको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।