बालमैत्री वडा घोषणा सम्बन्धमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा वडा अध्यक्ष रामकृष्ण थापासहित ।

हेटौँडाः हेटौँडा उपमहानगरपालिकाको ८ नम्बर वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने भएको छ । आगामी असार २९ गते हेटौँडा–८, कमानेलाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने भएको हो ।

हेटौँडा उपमहानगरपालिकाको पहिलो वडाको रुपमा हेटौँडा–८ लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने सोमबार पत्रकार सम्मेलन मार्फत् जानकारी गराइएको हो । बालमैत्री वडा घोषणाका लागि विभिन्न ५१ वटा सूचक पूरा गरेसँगै असार २९ गते वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने तयारी गरिएको हो । घोषणाका लागि वडाअध्यक्ष रामकृष्ण थापाको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ । बालमैत्री वडा घोषणाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको र हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा बालमैत्री वडा घोषणा कार्यक्रम आयोजना गरिने वडा अध्यक्ष थापाले जानकारी दिनुभएको छ ।

उहाँँका अनुसार वडामा क्रियाशील बालमैत्री स्थानीय शासन वडा समिति तथा बाल अधिकार समितिले १९ वटा टोल विकास संस्थामा २१ वटा बाल समूह गठन गरी बर्षभरी विभिन्न कार्यक्रम गरेर बालमैत्री वडा घोषणाका लागि आवश्यक वातावरण निर्माण गरेको हो । हरेक समूहमा २५ जना सदस्य रहने गरी गठन गरिएको बाल समूहले डेढ बर्षदेखि वडालाई बालश्रम र बालविवाहमुक्त बनाउन विभिन्न रचनात्मक क्रियाकलाप गरेका थिए । बालमैत्री वडा निर्माणका लागि चालु आर्थिक बर्षमा वडा कार्यालयले १२ बाल श्रमिक उद्दार, ३ वटा बालबिबाह बदर गरेको र बालश्रममा प्रयोग भएका तथा अनाथ असहाय बालबालिकाका लागि माइती नेपाल र मामाघर नेपालसँग सहकार्य गरिएको उहाँले जानकारी दिनुभएको छ ।

बालमैत्री वडा घोषणा पश्चात सो कार्यको निरन्तरता प्रमुख चुनौति रहेकाले बजेटमा नै व्यवस्था गरेर अघि बढेको वडा अध्यक्ष थापाको भनाई छ । बालमैत्री स्थानीय शासन अन्तर्गत वडाले ११ लाख रुपैयाँ बजेट तर्जुमा गर्नु पर्ने भएपनि आगामी आर्थिक बर्षका लागि ८ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । वडा तथा टोल विकासले यस अभियानका लागि आगामी आर्थिक बर्षका लागि ३१ लाख ७६ हजार रुपैयाँ बजेट व्यवस्था गरेको वडा अध्यक्ष थापाले बताउनुभएको छ ।