हेटौँडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा बसाइँसराइलगायत अन्य कारणले गर्दा बर्षेनि एक हजारका दरले विद्यार्थी संख्या घटेको छ । गाउँपालिकाका स्रोत शिक्षक दाशरथी उपाध्याय भण्डारीका अनुसार पछिल्लो समय विभिन्न कारणले ३ बर्षमा दुई हजार जना विद्यार्थी घटेका छन् । यो संख्या आगामी बर्षहरुमा थप घट्दै जाने देखिएको छ ।
जनसंख्या वृद्धिदर घट्दै जानु, बसाइँसराइ, रोजगारी, सुविधालगायत अन्य कारण गाउँपालिकामा विद्यार्थी संख्या घट्दै गएको भण्डारीको भनाइ छ । मकवानपुरगढी गाउँपालिकाकामा २०७९ सालमा ७ हजार ५ सय १४ जना विद्यार्थी भर्ना भएका थिए भने २०८० सालमा ९ सय ३२ जनाले घटेर छ हजार पाँच सय ८२ जनामा झरेको थियो ।
यसबर्ष एक हजार ५४ जना विद्यार्थी घट्दै ५ हजार ४ सय २६ जना विद्यार्थी भर्ना भएका छन् । गतबर्ष छ हजार पाँच सय ८२ जना विद्यार्थीहरु भर्ना भएको स्रोत शिक्षक भण्डारीले जानकारी दिनुभयो । मकवानपुरगढीमा आधारभूत (कक्षा ५ सम्मका) विद्यालय २० वटा, निमावि (कक्षा ८ सम्मका) ७ वटा र माध्यमिक १० वटा रहेका छन् ।