हेटौँडाः हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट अलग गर्न माग गर्दै बागमती प्रदेश सभा अगाडि प्रदर्शन भएको छ । नेपाली काङ्ग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र माओवादी केन्द्रका युवाहरुले प्रदेश सभा भवन अगाडि अस्पताललाई नीजिकरण गर्न नहुने भन्दै प्रदर्शन गरेका हुन् ।
युवाले विरोधस्वरुप कालो व्यानरसहित नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् । उनीहरुले अस्पताललाई स्मारक बनाउन बन्द गर, क्याबिनेटको निर्णय मान्य हुन्न, सार्वजनिक सम्पत्तिलाई निजीकरण गर्न बन्द गर जस्ता नारा लगाएका छन् । प्रदेश सभाको बैठक अगाडि उनीहरुले प्रदर्शन गरेका हुन् । बागमती प्रदेश सभाको बैठक आइतबार ४ बजे बस्ने तय भएको थियो । उक्त बैठकमा प्रदेश सरकारको बजेट प्रस्तुत हुने कार्यक्रम थियो । प्रदेश सभा बैठक अझै सुरु हुन सकेको छैन । बैठक सुरु हुन केही समय लाग्ने जनाएको छ ।