म्यान अफ द म्याच निरज देउला घोषित

हेटौंडाः हेटौंडामा जारी चौथो संस्करणको वडास्तरीय मेयर कप फुटबल प्रतियोगितामा वडा नम्बर १४ र ४ सेमिफाइनलमा प्रवेश गरेका छन् । बिहीबार भएको क्वार्टरफाइनल खेलबाट वडा नम्बर १४ र ४ सेमिफाइनलमा पुगेको हो ।

हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा भएको क्वार्टरफाइनल खेलमा ७ नम्बर वडालाई ३–२ गोल अन्तरले हराउँदै १४ नम्बर वडा सेमिफाइनलमा प्रवेश गरेको छ । वडा–१४ बाट सञ्जीव मोक्तान, धावा लामा र अनुप राना मगरले गोल गरेका हुन् । ७ नम्बर वडाबाट सुजल श्रेष्ठ र सुशान्त लामाले समान एक–एक गोल गरेका हुन् ।

बिहीबारै भएको दोस्रो क्वार्टरफाइनल खेलमा विजयी हुँदै ४ नम्बर वडाले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित बनाएको छ । १ नम्बर वडालाई टाइब्रेकरमा ५–४ गोल अन्तरले हराउँदै वडा–४ अन्तिम ४ मा प्रवेश गरेको नगर खेलकुद विकास समितिका सदस्य विजय गौतमले बताउनुभएको छ । निर्धारित समयमा एक–एक गोलको बराबरीमा रोकिएर खेल टाइब्रेकरमा पुगेको सदस्य गौतमले बताउनुभयो । वडा–४ का निरज देउला म्यान अफ द म्याच घोषित भएका छन् ।

प्रतियोगिताको उपाधि विजेता टिमले २ लाख रुपैयाँ र उपविजेता टिमले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै, तृतीय हुनेले ५० हजार रुपैयाँ र चौथो हुनेले २५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताको फाइनल खेल बैशाख ४ गते हुनेछ ।