हेटौँडाः चितवन जिल्लास्थित चितवन मेडिकल कलेज र हेटौँडास्थित चुरेहिल हस्पिटल मर्ज हुने भएको छ । शनिबार चुरेहिल हस्पिटलको आठौं साधारणसभाले चितवन मेडिकल कलेजसँग मर्ज हुने निर्णय गरेको चुरेहिल हस्पिटलका प्रबन्धक नारायणलाल श्रेष्ठले जानकारी दिनुभएको छ । चितवन मेडिकल कलेजका अध्यक्ष डा. हरिशचन्द्र न्यौपानेको उपस्थितिमा भएको साधारणसभाले विस्तृत सम्झौतामा आगामी भदौ ७ गते हस्ताक्षर गरिने श्रेष्ठले जानकारी दिनुभएको छ ।
मर्जपछि २५ बेडको चुरेहिल हस्पिटललाई एक सय बेडमा विस्तार गरी विशेषज्ञ सेवाहरु पनि विस्तार गरिने श्रेष्ठले बताउनुभयो । एक सय बेडमा विस्तार गरेसँगै चुरेहिल हस्पिटलमा नर्सिङ विषयको पठनपाठन गर्ने योजना पनि रहेको उहाँले बताउनुभयो । चितवनका स्वास्थ्य संस्थाले मकवानपुरलाई आफ्नो सेवा क्षेत्रको रुपमा लिँदै आएको सन्दर्भमा चितवन मेडिकल कलेजले चुरेहिल हस्पिटलसँग मर्जरनै गरेर सेवा विस्तार गर्ने योजना बनाउनु मकवानपुरको स्वास्थ्य सेवाको क्षेत्रमा महत्वपूर्ण सावित हुने अपेक्षा गरिएको छ ।