प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल कविलाई पुरस्कृत गरिँदै ।

हेटौंडाः बागमती प्रदेशको राजधानी हेटौंडामा आयोजना भएको खुला हास्यव्यंग्य कविता प्रतियोगितामा भक्तपुरका डिल्लीप्रसाद मुलतिहुनका “जाँड–रक्सी महोत्सव” शीर्षकको कविता उत्कृष्ट घोषित भएको छ । शुक्रबार सिस्नुपानी नेपाल मकवानपुरको आयोजना तथा हेटौंडा उपमहानगरपालिका–४ नम्बर वडाको विशेष सहयोगमा भएको प्रतियोगितामा २५ प्रतियोगीमध्ये डिल्लीप्रसादको कविता प्रथम हुन सफल भएको हो । प्रतिस्पर्धामा प्रथम हुन सफल डिल्लीप्रसादले १५ हजार रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।

यसैगरी मकवानपुरका प्रभास घिमिरेको बाँदर शीर्षकको कविता द्वितीय हुन सफल भएको छ । घिमिरेले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नुभएको छ । सुनसरीका सुरज पराजुलीको “फलानो” शीर्षकको कविता तृतीय हुन सफल भएको छ । पराजुलीले ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नुभयो । यसैगरी पाँचथरका कमल घिमिरेको “नेताज्यूलाई स्वागत छ” र कास्कीका संयोग बस्यालको “हामी” शीर्षकको कविता सान्त्वना हुन सफल भएको छ । घिमिरे र बस्याल नगद ३÷३ हजार रुपैयाँ प्राप्त गर्नुभएको छ ।

प्रतियोगितामा सहभागिताका लागि प्राप्त ८१ कविता मध्ये आयोजकले २५ वटा कवितालाई प्रारम्भिक छनोट गरी प्रस्तुतीको अवसर दिएको थियो । प्रारम्भिक छनोटमा परेका ४ जना कवि प्रस्तुतीको चरणमा सहभागी भएनन् । धनकुटा, पाँचथर, मकवानपुर, भक्तपुर, गुल्मी, कास्की, नवलपरासी, पर्वत, गोरखा, तनहुँ, उदयपुर, रुपन्देही, धादिङ, सुनसरीका २५ प्रतियोगी कविता वाचनका लागि छनौट भएका थिए । हरेक बर्ष वैशाख १९ गते सिस्नुपानी नेपालको स्थापना दिवसमा विविध कार्यक्रम हुँदै आएको छ । सोही अवसरमा सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष राजकुमार लामिछानेको सभाध्यक्ष तथा सिस्नुपानी नेपालका केन्द्रीय संस्थापक अध्यक्ष तथा सल्लाहकार नरनाथ लुइँटेलको प्रमुख आतिथ्यमा प्रतियोगिता भएको हो ।

हेटौंडा–४ का वडाध्यक्ष नवीन सिग्देलको विशिष्ट आतिथ्य रहेको थियोे । सिग्देलले जेठमा वृहत् उद्योग तथा कला–संस्कृति कार्यक्रम गरिने पनि जानकारी दिनुभयो । कार्यक्रममा सिस्नुपानी नेपालका केन्द्रीय सचिव राजकुमार घिमिरे, सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिल, आँचल साहित्य कल पुञ्जकी अध्यक्ष भावना सापकोटालगायतका साहित्यकारको उपस्थिति थियो ।