Home मुख्य समाचार वडा अध्यक्षको चुनावी घोषणापत्रः प्रत्येक विद्यालयमा आविस्कार केन्द्र, उच्च शिक्षामा २० लाख...

वडा अध्यक्षको चुनावी घोषणापत्रः प्रत्येक विद्यालयमा आविस्कार केन्द्र, उच्च शिक्षामा २० लाख सहयोग

चुनावी घोषणापत्र सार्वजनिक गर्नुहुँदै वडा अध्यक्षका उम्मेदवार राम थापा ।

हेटौंडाः आसन्न स्थानीय तहमा मतदाताको ध्यान, मन र मत आकर्षित गर्न उम्मेदवारहरुले आकर्षक घोषणपत्र तयार पार्ने गरेका छन् । घोषणापत्रलाई हेर्दा मतदाता आकर्षित हुने तर नपत्याउने जोखिम पनि रहन्छ ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ को अध्यक्ष पदका उम्मेदवार राम थापाले आम मतदातालाई आकर्षिक गर्ने गरी वडाका प्रत्येक विद्यालयमा आविस्कार केन्द्र स्थापना गर्नेदेखि चिकित्सा शिक्षा, इन्जिनियरिङ र चार्टर्ड एकाउन्टेन्ट विषय अध्ययन गर्न चाहने विद्यार्थीलाई ५ लाखदेखि २० लाख रुपैयाँसम्म सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

शुक्रबार पत्रकार सम्मेलन गरेर आम मानिसका लागि आश्चर्य जस्तो लागे पनि विद्यालयमा आविस्कार केन्द्र र उच्च शिक्षा अध्ययनका लागि शैक्षिक अनुदान कार्यक्रम सञ्चालन गर्न सम्भव भएको थापाले दावी गर्नुभयो । वडाको आन्तरिक स्रोत या दाताको खोजी गरेर भए पनि वडाका विद्यार्थीलाई आकर्षक शैक्षिक कार्यक्रममा सहभागी हुन सहयोग गरिने थापाको भनाइ छ । नेकपा माओवादी केन्द्र, राप्रपा, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका सदस्यसहित नेपाली कांग्रेसको तर्फबाट अध्यक्षको उम्मेदवार बन्नु भएका राम थापा आफ्नो समूह निर्वाचित भए विज्ञ समूहको सल्लाहमा उपयुक्त योजना बनाएर काम गर्ने बताउनुभयो ।

नेपाली कांग्रेसको सक्रिय सदस्य थापाले चुनावी नतिजा सकारात्मक नभए पनि वडाको विकासका लागि रचनात्मक क्रियाकलाप गरिरहने बताउनु भयो । २०४६ सालको राजनीतिक परिवर्तनयता कम्युनिष्टले लगातार काम गरे पनि वडाको विकासमा उल्लेखनीय काम हुन नसकेको जीकिर गर्नुहुँदै आफ्नो समूह निर्वाचित भए सुन्दर वडाको रुपमा विकास गर्ने थापाले बताउनुभयो ।