सहयोग हस्तान्तरण गर्नुहुँदै ।

हेटौंडाः हेटौंडा–५ स्थित ग्रामीण महिला सेवा केन्द्रको २० वार्षिकोत्सवको अवसरमा मामाघर नेपाललाई खाद्यान्न सहयोग गरिएको छ । ११ हजार रुपैयाँ बराबरको खाद्यान्न सामग्रीहरु चामल, आलु, दाल, बिस्कुट, मस्यौरा सहयोग गरिएको ग्रामीण महिला सेवा केन्द्रका कार्यक्रम संयोजक दीपक न्यौपानेले जानकारी दिनुभयो ।

खाद्यान्न हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनीको प्रमुख आतिथ्य रहेको थियो । प्रमुख अतिथि पुडासैनीले मामाघर नेपालले बालबालिकाको क्षेत्रमा गर्दै आएको कार्यको प्रशंसा गर्नुहुँदै जिल्ला समन्वय समितिबाट आवश्यक सहयोग र समन्वय गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । ग्रामीण महिला सेवा केन्द्रकी अध्यक्ष उर्मिला कार्कीले पारिवारिक विखण्डनले बालबालिका सडकमा आउने हुनाले सरकार र सम्बन्धित निकायले पारिवारिक विखण्डन न्यूनीकरणका कार्य थालनी गर्नुपर्ने बताउनुभएको छ ।

यसैगरी ग्रामीण महिला सेवा केन्द्रकी उपाध्यक्ष मेनुका दाहालले ग्रामीण भेगका महिला, बालबालिका र युवाको क्षेत्रमा परिणाममूखी कार्य गर्न ग्रामीण महिला सेवा केन्द्र सफल भएको बताउनुभयो । मामाघर नेपालका संरक्षक अर्पण पराजुलीले सडक बालबालिका मुक्त क्षेत्रमा जोडिनु भएकोमा आभार व्यक्त गर्नुभएको छ । कार्यक्रममा ग्रामीण महिला सेवा केन्द्रका सचिव अचला शर्मा, सदस्यहरु एलिजा पुडासैनी, देवकी चौलागाई, सीता घलान, लक्ष्मी थिङ, पञ्चमाया स्याङ््तान लगायत प्रशासन अधिकृत शर्मिला मगरको उपस्थिति थियो ।