हेटौँडा : प्रधानमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ट नेता बालेन्द्र शाह (बालेन) को नेतृत्वमा नयाँ सरकार गठन भएको छ । नवगठित मन्त्रिपरिषद्ममा संघीय राजधानी समेत रहेको बागमती प्रदेशले महत्वपूर्ण ५ मन्त्रालय पाएको छ ।
बालेन क्याबिनेटमा बागमती प्रदेशबाट मात्रै ५ जना मन्त्री नियुक्त भएका छन् । बालेन क्याविनेटमा मन्त्री बनेका आधिकांश काठमाडौंका रहेका छन् । जसमा काठमाडौंका ३ जना, नुवाकोट र चितवनका १/१ जना रहेका छन् । बालेन क्याविनेटमा विराजभक्त श्रेष्ठ उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री बन्नुभएको छ भने शिशिर खनाल परराष्ट्र मन्त्री, सस्मित पोखरेल शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्री बन्नुभएको छ । डा. विक्रम तिमल्सिना सञ्चार तथा सूचना प्रविधि मन्त्री बनेका छन् भने सोबिता गौतम कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बन्नुभएको छ ।
विषेशगरी काठमाडौं क्षेत्र नम्बर–५, ६ र ८ बाट ३ जना मन्त्री रहेका छन् भने चितवन–३ र नुवाकोट–१ बाट एक/एक जना मन्त्री बन्नुभएको छ । उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री बनेका श्रेष्ठ काठमाडौं–८ का हुन् भने परराष्ट्र मन्त्री बन्नुभएका खनाल काठमाडौं–६ को हुनुहुन्छ । काठमाडौं–५ का पोखरेलले शिक्षा, विज्ञान तथा प्रविधि र युवा खेलकुद मन्त्री बनेका छन् भने नुवाकोट–१ का डा. तिमल्सिना संचार तथा सूचना प्रविधि मन्त्री बन्नुभएको छ । चितवन–३ की गौतम कानुन न्याय तथा संसदीय मामिला मन्त्री बन्नुभएको छ ।
काठमाडौं–५ बाट ‘हेभीवेट’ नेताहरु एमालेका ईश्वर पोखरेल र कांग्रेसका प्रदीप पौडेललाई पराजित गर्दै सस्मितले संसदको यात्रा तय गर्नुभएको हो । काठमाडौं महानगरपालिकामा बालेन शाहको शिक्षा सल्लाहकार र विज्ञका रुपमा काम गरिसकेका पोखरेलले महानगरको छात्रवृत्ति प्रणालीमा क्रान्तिकारी सुधार गर्नुभएको हो ।
यसअघि १९ दिन शिक्षा मन्त्री बन्नुभएका खनाल यसपटक परराष्ट्र मन्त्रालयको जिम्मेवारीमा फर्किनु भएको हो । अमेरिकाबाट सार्वजनिक नीतिमा स्नातकोत्तर गर्नुभएका खनाल रास्वपाको अन्तर्राष्ट्रिय विभाग प्रमुख समेत हुन् । कूटनीतिक र आर्थिक क्षेत्रमा दखल राख्ने खनालले नेपालको विदेश नीतिलाई आधुनिक र सन्तुलित बनाउने अपेक्षा गरिएको छ ।
पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशशरण महतलाई उहाँकै गृह जिल्ला नुवाकोटमा पराजित गरेर डा. तिमल्सिना चर्चामा आएका हुन् । अष्ट्रेलियाबाट अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधि (एजम्) गर्नुभएका उहाँसँग सञ्चार क्षेत्रको १५ वर्ष लामो अनुभव छ । उहाँले सञ्चार मन्त्रालयमा नीतिगत र प्राविधिक सुधार गर्ने लक्ष्य राख्नुभएको छ ।
काठमाडौं–८ बाट पुनः निर्वाचित श्रेष्ठ दुई वर्षको अन्तरालमा दोस्रो पटक मन्त्री बन्नुभएको हो । यसअघि खेलकुद मन्त्रीका रूपमा सफल कार्यकाल बिताउनुभएको उहाँले ‘तथ्यांक र तर्क’ मा आधारित राजनीतिको पक्षपाती मानिन्छन् । सम्पदा संरक्षण र वातावरण अभियन्ताका रुपमा चिनिने उहाँलाई यसपटक विकासको मेरुदण्ड मानिने उर्जा मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
चितवन–३ मा रेणु दाहाललाई भारी मतान्तरले पराजित गर्नुभएको सोबिता गौतम नयाँ सरकारको कानुनी कमाण्डर बन्नुभएको छ । सुशासन र नागरिक अधिकारका मुद्दामा खरो उत्रिने गौतमले नेपालको कानुनी संरचनालाई नागरिकमैत्री र आधुनिक बनाउने प्राथमिकता राख्नुभएको छ ।
