हेटौँडा : बागमती प्रदेशको ३ जिल्लामा छुट्टाछुट्टै घटनामा ४ जनाको मृत्यु भएको छ । प्रदेशको चितवन, सिन्धुपाल्चोक र धादिङ जिल्लामा आइतबार ४ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
पृथ्वीलोकमार्ग अन्तर्गत धादिङ जिल्लाको गजुरी गाउँपालिका–६ बन्छेटारमा मोटरसाइकल अनियन्त्रित भई सडकमा बिग्रिएर रोकिराखेको ट्रकमा ठोकिँदा चालकको मृत्यु भएको छ । आइतबार राती १० बजेर ३५ मिनेटको समयमा गजुरीबाट गल्छीतर्फ जाँदै गरेको बा ७२ प ६९४८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकमा बिग्रिएर रोकिराखिएको ना ६ ख ३१०६ नम्बरको ट्रकमा ठोक्किएर मोटरसाइकल ट्रकमुनि पस्न पुगेको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक गल्छी गाउँपालिका–२ भुतिया निवासीका ५६ वर्षीय खड्ग प्रसाद खतिवडा गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरी लगिएको थियो । उपचारका क्रममा राति ११ बजेर ३० मिनेटको समयमा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । ट्रक चालक गोरखा गण्डकी गाउँपालिका–२ का ४१ वर्षीय श्री बहादुर चेपाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चितवनको भरतपुर महानगरपालिका–१८ गुन्जनगरमा मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्री वृद्धाको मृत्यु भएको छ । शनिबार साँझ ६ बजेर १५ मिनेटको समयमा सारदानगर टाउनबाट बाबुरामचोकतर्फ जाँदै गरेको ना ६३ प ३८०१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्री वृद्धा गम्भिर घाइते भएको प्रहरीले जानकारी दिएको छ । मोटरसाइकलको ठक्करबाट ७९ वर्षीया चन्द्रकुमारी थापा घाइते भएकी थिइन् । उनलाई उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज लगिएको थियो । उपचारको क्रममा चैत आइतबार दिउँसो ४ बजेर ४५ मिनेटको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक भरतपुर–२१ का ४० वर्षीय कर्ण बहादुर थापा मगर सामान्य घाइते भई उपचारपछि घर फर्किएको र उनलाई नियन्त्रणमा लिने प्रक्रिया जारी रहेको छ ।
सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका–३ खुतुमेडाँडामा सडक निर्माणमा कार्यरत एक कामदारको मृत्यु भएको छ । मृत्यु हुनेमा रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका–७ का ६४ वर्षीय ईमान सिंह तामाङ रहेको प्रहरीले जानकारी दिएको छ । आइतबार राती १० बजेर २० मिनेटको समयमा खाना खाने क्रममा अचानक ढलेर बेहोस भएका थिए । उनलाई उपचारका लागि मेलम्ची नगर अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।
चितवनको माडी नगरपालिका–१ कल्याणपुरमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । मृत फेला पर्नेमा ४५ वर्षीय घनश्याम पाण्डे रहेको प्रहरीले जानकारी दिएको छ । आइतबार बिहान ६ बजेको समयमा पाण्डे सडक छेउमा मृत अवस्थामा भेटिएका थिए । घटनाबारे थप अनुसन्धान भई रहेको प्रहरीले जानकारी दिएको छ ।
