हेटौँडा : पुरुष एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता–२०८२ अन्तर्गत बागमती प्रदेशस्तरीय छनोट प्रतियोगितामा मकवानपुरले पहिलो जित हासिल गरेको छ । बिहीबार माथिल्लो मूलपानी क्रिकेट मैदानमा भएको खेलमा मकवानपुरले नुवाकोटलाई फराकिलो रनअन्तरले हराउँदै प्रतियोगितामा पहिलो जित हात पारेको हो ।
मकवानपुरले नुवाकोटलाई २ सय ७९ रनले पराजित गरेको छ । सुरुमा टस जितेर व्याटिङ गरेको मकवानपुरले नुवाकोट सामु ३ सय ६७ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो । मकवानपुरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३ सय ६६ रन बनाएको हो । मकवानपुरका शुभ कंसाकारले सर्वाधिक १२२ रन बनाए । यो प्रतियोगितामा कुनैपनि खेलाडीको अहिलेको उच्च व्यक्तिगत स्कोर हो । कप्तान सुमन सुनारले ११० रन, सक्षम बस्ताकोटीले ४६ रन र युविन बुढाथोकीले ३१ रनको योगदान गरे । बल्लिङतर्फ मकवानपुरका रोहित ठाकुर, सकार गजुरेल र स्वरुप श्रेष्ठले समान ३/३ विकेट लिए भने विशाल फुयालले पनि १ विकेट लिए ।
३ सय ६७ रनको विशाल लक्ष्य पछ्याएको नुवाकोट ८७ रनमै अलआउट भयो । नुवाकोटले २६ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर ८७ रन मात्रै बनाउन सक्यो । नुवाकोटका मन्जित थपलियाले सर्वाधिक २४ रन र योगेश बहादुर भट्ट क्षेत्रीले १५ रन बनाए । नुवाकोटका इसान पलि र विधान खतिवडाले समान २/२ विकेट लिएका थिए ।
मकवानपुरका सुभ कंसाकार म्यान अफ द म्याच घोषित भए । मकवानपुर यसअघि भक्तपुर र काठमाडौंसँग पराजित भएको थियो । नुवाकोट यो लगातार तेस्रो हार हो । नुवाकोट यसअघि चितवन र काठमाडौंसँग पराजित भएको थियो । मकवानपुर एक खेलमा जित निकाले पनि अंक तालिकाको पाचौँ स्थानमै यथावत रहेको छ । प्रतियोगितामा ७ वटा टोलीको सहभागिता रहेको छ ।
