हेटौँडा : आसन्न निर्वाचनका लागि ३० दिन बाँकी रहेको छ । चुनावको दिन नजिकिदै जाँदा माहोल पनि उत्तिकै तातिदो अवस्थामा रहेको छ । आगामी निर्वाचनको मिति नजिकिँदै गर्दा मकवानपुरका २ क्षेत्रका मतदाताहरुमा परम्परागत राजनीतिक शक्ति र पुराना अनुहारप्रति तीव्र असन्तुष्टि देखिएको छ । हेटौंडा उपमहानगरपालिका र भीमफेदी गाउँपालिकाका स्थानीय मतदाताहरु आगामी निर्वाचनमा नतिजा फरक हुने बताउँछन् ।
केही व्यक्तिहरुसँग गरिएको कुराकानी अनुसार आगामी निर्वाचनमा नयाँ नेतृत्व र एजेण्डाको खोजी हुनेछ । फागुन २१ का लागि तोकिएको निर्वाचनमा परिवर्तन र नयाँ विकल्पलाई प्राथमिकता दिने उनीहरुको भनाई छ । विशेषगरी मकवानपुर कम्युनिष्ट पार्टीहरुको दवदवा कायम रहेको छ । यसअघिका निर्वाचनमा एमाले र माओवादीले जितेको मकवानपुरको २ क्षेत्रमा आगामी निर्वाचनमा कांग्रेस माथि पनि उत्तिकै चुनौति हुने प्रष्ट छ । मतदाताहरुको मुड परिवर्तन हुने चरण बढ्दो छ । जसले आगामी निर्वाचनमा नयाँ एजेण्डा र नेतृत्व चयन गर्ने तर्फ मतदाताहरु अग्रसर रहेका छन् ।
विगतमा खानेपानी, बिजुली र बाटोलाई मुख्य प्राथमिकताका साथ अहिले ‘प्रदूषण’ नियन्त्रणको एजेण्डा दलहरुले लिनुपर्ने उनीहरुकनो भनाई छ । ठुला उद्योगबाट निस्कने धुलोले जनस्वास्थ्यमा गम्भीर असर पारेको उनीहरुको गुनासो छ । ‘विकास त भइरहेको छ, तर स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार खोसिएको छ ।’ उनीहरुले भने । उद्योगलाई व्यवस्थित र प्रदूषणरहित बनाउनुपर्ने उनीहरुको माग छ । आगामी निर्वाचनमा जसले यो समस्या समाधानको ग्यारेन्टी गर्नेले मत पाउने उनीहरुको भनाई छ । गत भदौमा भएको युवाहरुको आन्दोलनलाई स्थानीयले भ्रष्टाचारविरुद्धको प्राकृतिक विस्फोटका रुपमा लिएका छन् । तर, आन्दोलनका नाममा भएका हिंसा र भौतिक क्षतिप्रति उनीहरु सचेत हुनुपर्ने उनीहरुको भनाई छ ।
हेटौँडाका ६५ वर्षका लालबहादुर जोशी एजेण्डासहित नयाँ नेतृत्व चयन गर्नुपर्ने बताउँछन् । विगतमा पटक–पटक जितेर गएकाहरुले प्रभावकारी काम गर्न नसकेकाले आम नागरिकहरु रुष्ट बनेकाले देशको अवस्था जटिल बनेको उनले बताए । नागरिकको समस्यामा नेतृत्वले काम गर्न नसकेकाले युवापुस्ताको आन्दोलन हुनु स्वभाविक रहेको उनले बताए । आगामी निर्वाचनमा नयाँ एजेण्डा सहितको नेतृत्व चयन गर्नुपर्ने उनको भनाई छ । आगामी नेतृत्वले देशको अवस्था र नागरिकको माग अनुसारको परिवर्तन ल्याउन जरुरी रहेको उनले बताए ।
नाम उल्लेख नगर्ने शर्तमा हेटौंडा–१८ का एक मतदाताका अनुसार पुराना दलहरुले प्रभावकारी काम गर्न सकेनन् । चुनावमा आउने काम गर्ने प्रचलन बढिरह्यो । नागरिकको दुःख उस्तै हुँदा गत भदौको दुर्घटना निम्तिएको उनी बताउँछन् । सत्तामा पुग्ने र नागरिकको माग, गुनासो बिर्सिँदा पुरना दलहरुप्रति असन्तुष्टि बढेको हो । सोही असन्तुष्टिका कारण मतदाताहरु अब नयाँ पुस्ता र नयाँ राजनीतिक शक्तितर्फ आकर्षित देखिएका उनले बताए ।
भीमफेदीकी ६१ वर्षीया माया परियार भिजन र नयाँ सोच भएका युवा पुस्तालाई देश जिम्मा लगाउनु पर्ने बताउँछिन् । नयाँ पात्रहरुले देशमा सुधार ल्याउनेमा उनको आशा रहेको छ । आगामी निर्वाचनमा देशको समृद्धि र शान्तिका लागि नयाँ नेतृत्वलाई अवसर दिनुपर्ने उनको भनाई छ । परियारले आगामी नेतृत्वबाट मुख्यतया देशमा शान्ति र सुरक्षा हुनुपर्ने बताउँछिन् । विशेषगरी गाउँघरका दिदीबहिनीहरूले सुरक्षित महसुस गर्ने वातावरण र गरिबको हितमा काम गर्ने सरकारको खोजीमा आफू रहेको उनको भनाइ छ ।
‘हामीलाई जसले राम्रो गर्छन् । उनैलाई भोट दिने हो ।’ उनले भनिन् ‘पुरानाले पार लाउन सकेनन् अब नयाँ खोज्ने अवस्था देखिएको छ । जसले देशमा सुधार ल्याउन सक्छन् । उनीहरूलाई नै रोज्ने सोच छ । अरुले भनेको भरमा भन्दा पनि आफैँले बुझेर सही नेतृत्व छान्छौं । देश बेचेर नखाओस् र धनी–गरिब सबैले समान रुपमा शान्ति र सुरक्षाका साथ बाँच्न पाऊन् भन्ने हाम्रो चाहना हो ।’
हेटौंडा उपमहानगरपालिका स्थानीय चतुरभुज उपाध्याय आगामी निर्वाचनको चहलपहल सुरु भएसँगै वर्तमान नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरे । उनले देश विकास र सुशासनका लागि नयाँ विकल्पको खोजी भइरहेको बताए । अहिलेका जनप्रतिनिधिहरूको कार्यशैली प्रभावकारी नभएको भन्दै आगामी निर्वाचनमा नयाँ अनुहार आउनुपर्ने उनले बताए । उपाध्यायका अनुसार यस क्षेत्रका जनताले पुरानो नेतृत्वबाट कुनै परिवर्तन भएको छैन । ‘संघीय सांसद दीपक बहादुर सिंहले जितेको थाहा भए पनि ठोस काम केही देखेको छैन । प्रदेश सांसदहरु आफू लगायत धेरै स्थानीयले चिन्नै सकेका छैनौं ।’ उनले भने, ‘प्रतिनिधि चुनिएर गए पनि जनताका बीचमा उनीहरुको उपस्थिति र काम शून्य जस्तै छ । त्यसैले अब नयाँ अनुहार हेर्न चाहन्छन् ।’
निर्वाचनमा जसले जिते पनि ‘स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार’ सुनिश्चित हुनुपर्ने उनले बताए । विशेषगरी उद्योगबाट हुने प्रदूषणले स्थानीयको जनजीवन कष्टकर बनेकाले उद्योगलाई व्यवस्थित गरेर प्रदूषण नियन्त्रण गर्दै समस्या समाधान गर्ने एजेण्डा दलहरुले लिनु पर्ने उनको भनाई छ । आश्वासनमा मात्र बाँच्नुपर्ने अवस्थामा विकास संगै स्वास्थ्य र शिक्षाका सुधारको पाटो सहित स्वच्छ वातावरण कायम गर्नुपर्ने उनले बताए ।
गत भदौमा भएको जेनजी आन्दोलनलाई उपाध्यायले राजनीतिमा व्याप्त भ्रष्टाचारको विरुद्धमा भएको जनविस्फोट भएको उनले बताए । भ्रष्टाचारको पराकाष्ठाले गर्दा विद्यार्थीदेखि आम नागरिक सडकमा आउनु सकारात्मक भए पनि आन्दोलनका नाममा हुने हिंसा र हत्या भने स्वीकार्य नहुने उनको भनाई छ । सिंहदरबार जलाउने प्रयास भएको घटनामा अन्य घुसपैठ भएकाले राष्ट्रिय सम्पत्तिमा क्षति पु¥याउनेहरुलाई पहिचान गरी कडा कारबाही गर्नुपर्ने उनको माग छ ।










