Home मुख्य समाचार सामाजिक परीक्षणसँगै परियोजना हस्तान्तरण

सामाजिक परीक्षणसँगै परियोजना हस्तान्तरण

परियोजना हस्तान्तरण गर्दैको तस्वीर ।

हेटौँडा : कैलाश गाउँपालिकामा सञ्चालन हुँदै आएको एक परियोजनाको सामाजिक परीक्षणसँगै गाउँपालिकालाई परियोजना हस्तान्तरण गरिएको छ । अपाङ्गताको क्षेत्रमा विगत तीन वर्षदेखि सेवा प्रदान गर्दै आइरहेको सुन्दरढोका साथी सेवा संस्थाकी कार्यकारी निर्देशक विजता अधिकारीले मंगलबार गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानलाई परियोजनासम्बन्धी दस्तावेज हस्तान्तरण गर्नुभएको हो ।

दस्तावेज ग्रहणपछि अध्यक्ष मुक्तानले अपाङ्गता र जीविकोपार्जन क्षेत्रमा गरिएको कार्यप्रति धन्यवाद व्यक्त गर्दै प्रस्तुत सामाजिक परीक्षण प्रतिवेदनले काम प्रभावकारी भएको स्पष्ट देखाएको बताउनुभयो । संस्थाको कामले सकारात्मक परिणाम दिएको उल्लेख गर्दै उहाँले त्यसलाई सरकारी तहबाट कार्यान्वयन गरिने बताउनुभयो । स्थानीय सरकारले अपाङ्गताको सवालमा निरन्तर काम गर्ने प्रतिबद्धता जनाउँदै अपाङ्गता भएका नागरिकप्रति समाजको दृष्टिकोण सकारात्मक बन्दै गएको बताउनुभयो ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले सुन्दरढोकाले गरेका कार्यको प्रशंसा गर्दै आगामी दिनमा पनि सहकार्य गरिने बताउनुभयो । अपाङ्गताको क्षेत्रमा नागरिकको चेतनास्तर अझै बढाउन आवश्यक रहेको उहाँको भनाइ थियो ।

संस्थाकी कार्यकारी निर्देशक अधिकारीले भौगोलिक विकटताको चुनौतीका बाबजुद तीन चरणमा कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । अपाङ्गता भएका नागरिकलाई घरमै उपचार सेवा तथा आवश्यक सुविधा उपलब्ध गराउनुपर्नेमा जोड दिँदै उहाँले सीपमूलक तालिम र जीविकोपार्जनका कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा परियोजना संयोजक राम पार्कीले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मा कँडेल, वडा नं. १ का वडाध्यक्ष तेजबहादुर ब्लोन, वडा नं. ९ का वडाध्यक्ष भुवनसिं घलान, संस्थाका प्रतिनिधि तथा गाउँपालिकाका विभिन्न शाखा प्रमुखहरूको उपस्थिति रहेको थियो ।

Exit mobile version