Home अर्थ/व्यापार बागमती सरकारको निर्णय, जेनजी आन्दोलनमा जलेका सवारीको कर मिनाहा गर्ने

बागमती सरकारको निर्णय, जेनजी आन्दोलनमा जलेका सवारीको कर मिनाहा गर्ने

हेटौँडा : बागमती प्रदेश सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा जलेका सवारी साधनको कर मिनाहा गर्ने निर्णय गरेको छ । प्रदेश सरकारको मन्त्रिपरिषद्को निर्णय अनुसार जेनजी आन्दोलनमा जलेका तथा क्षति भएका सवारी साधनहरुलाई कर छुट दिने र ढिलाइ भएको जरिवाना मिनाहा गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को पुस १६ गतेको बैठकको निर्णयअनुसार आन्तरिक मामिला तथा योजना मन्त्रालयले प्रदेश राजपत्रमा सूचना प्रकाशित गरेको हो । राजपत्रमा प्रकाशित सूचना अनुसार जेनजी प्रदर्शनको क्रममा आगजनी तथा तोडफोडका कारण पूर्णरूपमा क्षति भएका सवारी साधनहरुको लगत कट्टा (दर्ता खारेज) गर्ने प्रयोजनका लागि चालु आर्थिक वर्ष २०८२/८३ को सवारी साधन कर र नवीकरण दस्तुर छुट दिइनेछ ।

यस्तो सुविधा सरकारी, सार्वजनिक संस्थान, समिति, पर्यटकीय तथा निजी सवारी साधनहरुले पाउनेछन् भने यसका लागि सम्बन्धित धनीले प्रहरी मुचुल्कालगायत पूर्ण क्षति पुष्टि हुने आवश्यक प्रमाण कागजातहरु पेस गर्नुपर्नेछ । सार्वजनिक (भाडाका) सवारी साधनको हकमा भने सवारी साधन कर र नवीकरण दस्तुरका अतिरिक्त जाँचपास नवीकरण दस्तुर र बाटो इजाजतपत्र (रुट परमिट) नवीकरण दस्तुरमा समेत छुट दिने निर्णय गरिएको छ ।

यसैगरी, गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका कारण यातायात व्यवस्था कार्यालयहरुको सेवा प्रवाह अवरुद्ध भएको थियो । उक्त अवधिमा कर वा दस्तुर तिर्ने अन्तिम म्याद परेका सवारी साधनहरुको हकमा सरकारले विशेष राहतको व्यवस्था गरेको छ । राजपत्रमा उल्लेख भए अनुसार सेवा अवरुद्ध भएको कारण समयमा दस्तुर बुझाउन नपाएका सवारी धनीहरूले आगामी २०८२ साल माघ मसान्तभित्र दस्तुर बुझाउन आएमा प्रचलित कानुन बमोजिम लाग्ने जरिवाना र थप जरिवाना पूर्णरुपमा छुट दिइनेछ । सो सुविधा बाटो इजाजतपत्र र जाँचपासको नवीकरण दस्तुरमा लाग्ने जरिवानाको हकमा लागू हुनेछ ।

Exit mobile version