हेटौँडा : यातायात व्यवसायी उपभोक्ता सहकारी संस्था लिमिटेडको सत्रौं वार्षिक साधारणसभा शनिबार हेटौँडामा सम्पन्न भएको छ । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष तथा सहकारीका सल्लाहकार हीरालाल श्रेष्ठले साधारणसभाको उद्घाटन गर्नुहुँदै आर्थिक गतिविधिमा सबै पक्षले चासो दिन आग्रह गर्नुभयो ।
यातायात व्यवसायीले आफ्नो सवारी साधनमा गुणस्तरीय पेट्रोलियम, लुब्रिकेन्टस् र स्पेयर पार्टस् प्रयोग गर्ने वातावरण सहकारीले उपलब्ध गराएकोमा श्रेष्ठले यातायात व्यवसायीलाई सहकारीमार्फत कारोबार गरी सहकारी संचालनमा प्रभावकारी कदम चाल्न आग्रह गर्नुभयो । सहकारीका अध्यक्ष किरण पौडेलको सभाध्यक्षतामा भएको कार्यक्रममा नारायणी यातायात व्यवसायी संघका महासचिव तथा सहकारीका सल्लाहकार सरोजकुमार खनालले बिगतका दिनमा सहकारीले सेयर सदस्यहरुलाई बोनस दिने गरेको तर, पछिल्ला वर्षमा सहकारी संचालनमा सदस्यकै कारणले समस्या आएको बताउनुभयो ।
कार्यक्रममा नारायणी यातायात व्यवसायी संघका पूर्वअध्यक्ष बद्रीप्रसाद चौलागाई, जिल्ला सहकारी संघ प्रतिनिधि अर्जुनप्रसाद वाग्ले, सहकारीका सदस्य बिष्णुहरि बिडारी, पत्रकार महासंघ मकवानपुरका पूर्बअध्यक्ष भानुभक्त आचार्यलगायतले बोल्नुभएको थियो । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले गत भदौ १७ गते सहकारीको साधारणसभालाई मितव्ययी र सदस्य केन्द्रित गर्न जारी गरेको ८ बुँदे निर्देशनबमोजिम संस्थाका शेयर सदस्यको उपस्थितिमा साधारणसभा सम्पन्न गरेको अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।
प्राधिकरणले सम्बिन्धत सहकारीको सदस्य नभएको तथा नियमन निकायका कर्मचारी वा पदाधिकारीलाई साधारणसभामा सहभागी नगराउने, उद्घाटन सत्र, आसनग्रहण, मन्तव्यलगायतका औपचारिक समय व्यतित गर्ने क्रियाकलाप नगरी सिधै साधारणसभाको एजेण्डामा प्रवेश गर्ने, अतिथि सत्कार, यातायात खर्चलगायतका फजुल खर्च नगर्न सबै बचत तथा ऋण सहकारी संस्थालाई निर्देशन दिएको थियो । १ सय ५९ जना यातायात व्यवसायी शेयर सदस्य आवद्ध रहेको सहकारीको शेयरपुँजी ४८ करोड ७० लाख रुपैयाँ रहेको छ । सहकारीले हेटौंडा–१० मा विभिन्न कम्पनीले उत्पादन गरेको मोटरपार्टस्, लुब्रिकेन्ट्स, टायर सेयर सदस्य उपभोक्तालाई बिक्री गर्दै आएको छ भने हेटौंडा–११ मा पेट्रोल पम्प संचालन गरिरहेको छ ।









