Home मुख्य समाचार श्रमिक माविको हीरक महोत्सव सम्पन्न

श्रमिक माविको हीरक महोत्सव सम्पन्न

विद्यालयका संस्थापकलाई सम्मान गरिँदै ।

हेटौँडा : हेटौँडा–४, कर्रास्थित श्रमिक माध्यमिक विद्यालयको हीरक महोत्सव सम्पन्न भएको छ । सोमबार विद्यालय परिसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विवेक कार्कीको अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाको प्रमुख आतिथ्यमा हीरक महोत्सवको समापन कार्यक्रम भएको हो ।

हीरक महोत्सवको अवसरमा विद्यालयले स्मारिका प्रकाशन गरेको छ भने हीरक स्तम्भ अनावरण गरिएको छ । समापन समारोहमा विद्यालयका संस्थापक, पूर्वशिक्षक, पूर्वकर्मचारी, पूर्वविद्यार्थी, विद्यालयका सहयोगीलाई सम्मान गरेको छ । यस्तै हीरक महोत्सवको अवसरमा विद्यालयले विद्यार्थीलाई नियमित विद्यालय पठाउने, विद्यालयलाई सरसफाई गरेर विद्यालय पठाउने, जिम्मेवार अभिभावको रुपमा विद्यालयलाई सल्लाह, सुझाव दिने, विद्यालयले बोलाएका बेला नियमित उपस्थित हुने ५ जना अभिभावकलाई सम्मान गरेको छ ।

विद्यालयले प्रकाशन गरेको स्मारिक सार्वजनिक गरिँदै ।

हीरक महोत्सवको अवसरमा विद्यालयको अवस्थाका बारेमा प्रधानाध्यापक श्रीराम दहालले जानकारी गराउनु भएको थियो । कुनै समय विद्यार्थी संख्या न्यून भएर मर्ज गर्नेसम्मको चर्चा चलेको विद्यालयमा सुधारका प्रयास भइरहेको र अभिभावक र समुदायले पनि सुधारप्रति सकारात्मक प्रतिक्रिया जनाइरहेको प्रधानाध्यापक दहालले बताउनुभयो । उहाँले सबैको साथ र सहयोगमा विद्यालयलाई अझ राम्रो बनाउँदै १ हजार ५ सय विद्यार्थी संख्या पुर्‍याउने घोषणा समेत गर्नुभयो । हीरक महोत्सवलाई सम्बोधन गर्नुहुँदै नगरप्रमुख लामाले विद्यालयको सुधार सन्तोषजनक भएको उल्लेख गर्नुहुँँदै नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले शिक्षाको सुधारमा उपमहानगरपालिका सदैव सकारात्मक रहेको बताउनुभयो । कार्यक्रममा वडाध्यक्ष नवीन सिग्देलले शैक्षिक सुधार र प्रगतिमा वडा सदैव क्रियाशील रहँदै आएको बताउनुभयो । श्रमिक माविको सुधारमा वडाले निरन्तर साथ र सहयोग प्रदान गरिरहने बताउनुभयो ।

अभिभावकलाई सम्मान गरिँदै ।

हीरक महोत्सवको अवसरमा विद्यालयले विविध खेलकुद कार्यक्रमको आयोजना गरेको थियो । नगरस्तरीय विद्यार्थी फुटबल, जिल्लास्तरीय शिक्षक हाजिरीजवाफ प्रतियोगिता, नगरस्तरीय चित्रकला प्रतियोगिताको आयोजना गरेको थियो । यस्तै विद्यालयका विद्यार्थीबीच विभिन्न खेलकुद प्रतियोगिता आयोजना गरिएको थियो । हीरक महोत्सवको अवसरमा विद्यालयले पूर्वविद्यार्थीको भेला, अभिभावक अभिमुखीकरण तथा अभिभावकबीच खेलकुद कार्यक्रम आयोजना गरेको थियो । हीरक महोत्सवको अवसरमा विद्यार्थीले सोमबार खानाका स्टलहरु समेत सञ्चालन गरेका थिए भने विद्यार्थी र शिक्षक, कर्मचारीले नृत्यकला प्रस्तुत गरेका थिए ।

विद्यालयले आयोजना गरेको विभिन्न प्रतियोगितामा विजयीहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा बागमती प्रदेश सरकार मातहतको शिक्षा विकास निर्देशनालयका महानिर्देशक गोपाल प्रसाद कँडेल, वडाध्यक्षहरु, राष्ट्रिय परीक्षा बोर्डको हेटौँडास्थित कार्यालयका प्रमुख बद्रिबहादुर पाठक, नगरक्षेत्रका विद्यालयका प्रधानाध्यापकहरु, श्रमिक पूर्वविद्यार्थी समाजका अध्यक्ष सुरेश श्रेष्ठको पनि आतिथ्य रहेको थियो ।

Exit mobile version