हेटौँडा : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरले उम्मेदवारहरुको नाम सिफारिस गरेको छ । शनिबार सम्पन्न जिल्ला कमिटीको बैठकले गरेको सिफारिसमा ‘श्रीमान–श्रीमतीदेखि र जनप्रतिनिधिको लर्को रहेको छ ।
नेकपा मकवानपुरले केन्द्रको निर्देशनविपरीत बहालवाला जनप्रतिनिधिहरुको नाम समेत सिफारिस गरेको छ । नेकपाले वर्तमान अवस्थामा कुनैपनि जनप्रतिनिधिलाई राजीनामा नगराउने निर्देशन जारी गरेको छ । नेकपाले गरेको सिफारिसमा २ जोडीहरु दम्पत्ती परेका छन्, पूर्वस्वास्थ्य मन्त्री तथा ४ पटक निर्वाचन जितिसकेका नेता विरोध खतिवडा प्रत्यक्षतर्फ सिफारिस हुँदा उहाँकी श्रीमती मुनु सिग्देलको नाम समानुपातिकतर्फ सिफारिस गरिएको छ । प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ गरिएको सिफारिसलाई लिएर कार्यकर्ताले भने सामाजिक सञ्जालमा आलोचना गरेका छन् । जेन जी आन्दोलनपछि पनि छरितो र योग्य उम्मेदवार चयन गर्न नसकेको कार्यकर्ताको गुनासो छ ।
वर्तमान बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी प्रत्यक्षतर्फ सिफारिस हुँदा उहाँकी श्रीमती प्रमिला लामा पुलामीको नाम समानुपातिक सूचीमा राखिएको छ । केन्द्रले बहालवाला जनप्रतिनिधिहरूलाई पुनः उम्मेदवार नबनाउने वा राजीनामा नदिई सिफारिस नगर्ने निर्देशन दिए पनि नेकपा मकवानपुरमा भने उम्मेदवार बन्न बहालवाला प्रदेश सभा सदस्य र स्थानीय तहका पदाधिकारीहरुको लर्को लागेको छ । सिफारिस हुनेहरुमा बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, कुमारी मोक्तान, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलान, बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान र राक्सिराङ गाउँपालिकाका उपाध्यक्ष वनस्थम थिङ रहेका छन् ।
मकवानपुरको दुई निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ विरोध खतिवडा र नेकपा मकवानपुरका इन्चार्ज विजय गौतमसहित १३ जनाको नाम सिफारिस भएको छ भने क्षेत्र नम्बर २ मा विरोध खतिवडा, वरिष्ठ अधिवक्ता रामनारायण विडारी, वीरबहादुर घलान, लवशेर विष्ट, सागर उप्रेती र किशोर बर्तौलाको नाम सिफारिस गरिएको छ । समानुपातिकतर्फ मुनु सिग्देल र प्रमिला पुलामीसहित १७ जनाको नाम सिफारिस गरिएको छ ।
