हेटौंडाः ज्ञान र सीप पर्याप्त लिएरमात्र उद्यम गर्दा दिगो तरिकाले व्यवसाय गर्न सकिने बागमती प्रदेशकी उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री बिन्दु श्रेष्ठले बताउनुभएको छ । बुधबार हेटौंडा स्कुल अफ म्यानेजमेन्टले आयोजना गर्न लागेको उद्यमी पाठशाला सहजीकरण कार्यक्रमको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले उद्यमीहरुलाई ज्ञान तथा सीप विकासको महत्व बताउनुभएको हो ।
उहाँले सफल उद्यमी बन्न बजारको माग, नयाँ समयसापेक्ष प्रविधिबारे र बजारीकरण गर्ने प्रक्रियाबारे जान्नु आवश्यक भएको बताउनुभयो । यी ज्ञानहरुबारे जानकारी दिने काममा सहजीकरण गरेर हेटौंडा स्कुल अफ म्यानेजमेन्टले उदाहरणीय काम गरेको भन्दै मन्त्री श्रेष्ठले आगामी दिनमा अन्य संस्थाहरुले पनि यस्तै कार्य गर्नु जरुरी रहेको बताउनुभयो ।
आगामी दिनमा बागमती प्रदेश सरकारले उद्योग नीति निर्माण गर्न सबैको सुझावसमेत आवश्यक रहेको उहाँले स्पष्ट पार्नुभयो । शिक्षाप्रदायक संस्थाले उद्यमी तथा व्यवसायी बन्न सिकाउने र केही बिउपुँजी पनि प्रदान गर्दा उद्यमी तथा व्यवसायीकरणको प्रक्रियामा कोशेढुंगा साबित हुने उहाँले बताउनुभयो ।
सन् २०१९ मा हेटौंडा स्कुल अफ म्यानेजमेन्टले विद्यार्थीहरुमा उद्यमशीलता तथा नवप्रवर्तनको विकास गर्नुपर्छ भन्ने मान्यताका साथ स्थापना गरेको व्यापार निस्किरण केन्द्रले नवप्रर्वतन उद्यमी बन्न चाहने विद्यार्थीहरुलाई उद्यमी पाठशालामार्फत् बिउपुुँजीसहितको व्यवसायमा सहभागी गराउँदै आएको प्रिन्सिपल पुरनबहादुर जोशीले जानकारी दिनुभयो । सन् २०२५ सम्मको ६ वर्षमा ७० भन्दा बढी विद्यार्थीहरु स्नातक भइसकेका, २५ भन्दा बढी कार्यक्रम, ५ वटा व्यवसायहरु रजिस्टर्ड भएर काम भइरहेको उहाँले बताउनुभयो । उद्यम कार्यक्रमहरुका लागि विद्यार्थीहरुलाई बिउपुँजीको रुपमा २६ लाख रुपैयाँ प्रदान गरिएको कार्यक्रममा जनाइएको छ । यसबाट ३१ लाखभन्दा बढी रकम बढोत्तरी भएकोसमेत कार्यक्रममा जनाइएको छ ।
मसला, डिजिटल विज्ञापनलगायत ४ वटा विभिन्न उद्यमहरु सञ्चालनका लागि बिउपुँजी प्रदान गरिएको कार्यक्रममा जनाइएको छ । उद्यमी पाठशालामा व्यवसाय गरिरहेकाहरुसँग सम्पर्क, समन्वय तथा बजारबारे रिसर्चसमेत गर्ने गरेको महाविद्यालयले जनाएको छ । यसवर्र्ष असोजदेखि रजिष्ट्रेशन कार्यक्रम सुरु भई पुसको दोस्रो सातादेखि तालिम सञ्चालन गरेर बैशाखभित्र कार्यक्रम पूरा गरिने जनाइएको छ ।
कार्यक्रममा बागमती प्रदेशमा उद्यम क्षेत्रको अवस्था, अवसर र चुनौती विषयमा उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयका महाशाखा प्रमुख महेशराज पौडेल, इसीआर टेक प्रालिका व्यवस्थापन निर्देशक लेखराज पौडेल, आटर््स स्पेशका संस्थापक प्रमिला शाहबिच प्यानल छलफलसमेत भएको छ । उनीहरुले उद्यम गर्नका लागि बागमती प्रदेश सरकारले केही समयअघिदेखि चासो व्यक्त गर्न थाले पनि पर्याप्त नीति, कानुन र प्रशासकीय झन्झटमा कमी गर्नुपर्ने औल्याएका छन् । हेटौंडा स्कुल अफ म्यानेजमेन्टका प्रिन्सिपल जोशीको सभाध्यक्षतामा भएको कार्यक्रममा उद्योगी, व्यवसायी तथा विद्यार्थीहरुको सहभागिता थियो ।
