हेटौँडा:राष्ट्रिय राजमार्ग विस्तारको चर्चा र लामो समयदेखिको अन्योलका कारण हेटौँडा बजार क्षेत्र अहिले असुरक्षित बन्दै गएको छ । सडक फराकिलो बनाउने र भत्काइएका संरचना र स्क्र्याबहरुको व्यवस्थापन नहुँदा दिन प्रतिदिन दुर्घटनाको जोखिम बढिरहेको छ । भत्काइएका संरचनाका ढुंगा, इट्टा तथा रडका टुक्रा सडक तथा पेटीहरुमा छरिएका छन् । जसले पैदलयात्रीदेखि सवारी चालकसम्मले दैनिक सास्ती खेप्नु परेको छ ।
भत्किएका संरचनाहरुको व्यवस्थापनमा भने न घरधनीले काम गरेका छन् न नै प्रशासनले नै चासो दिएको छ । अहिले तिनै भत्किएका र धराप बनेका घरका कोठाहरुमा व्यवसायीहरुले जोखिमपूर्ण रूपमा व्यापार सञ्चालन गरिरहेका छन् । अझ कतिपय स्थानमा त भत्किएको संरचनाभन्दा अगाडि बढेर सडक पेटी (फुटपाथ) नै कब्जा गरी सामान राख्ने प्रवृत्ति बढेको छ । बजारका मुख्यचोक र आसपासका क्षेत्रमा सडकपेटी व्यवसायीको कब्जाले सर्वसाधारण मुख्य सडकबाटै हिँड्न बाध्य छन् । अव्यवस्थित सडक र फुटपाथ अतिक्रमणको सीधा असर ट्राफिक व्यवस्थापनमा परेको छ । हेटौंडाको बुद्धचोक, सीमाचोक र मेनरोड क्षेत्रमा सवारी जाम हुने गरेको छ ।
घर भत्काउने क्रममा दुर्घटना बढ्न थालेको छ । बुद्धचोकदेखि उत्तरतर्फ पछिल्लो ४ दिनमा भएका अलग–अलग ३ वटा घटनामा परी ५ जना मजदुर घाइते भएका छन् । पछिल्लो पटक आइतबार दिउँसो हेटौंडा–१ पिपलबोटस्थित उद्योग वाणिज्य संघ अगाडि रहेको बिकी जैसवालको घर भत्काउने क्रममा ३ जना मजदुर घाइते भएका छन् । घरधनी आफैंले कामदार लगाएर घर भत्काउने क्रममा दिउँसो करिब ३ः५० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घाइते हुनेहरुमा मकवानपुरगढी गाउँपालिका–१, रानीसेराका २२ वर्षीय सन्तोष भ्लोन, उदयपुर गाईघाट नगरपालिका–९ का २६ वर्षीय दिनेश चौधरी र उदयपुर बेलका नगरपालिका–१, पुरन्दाका ३० वर्षीय अरुण चौधरी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक पुस्कर बोगटीले जानकारी दिनुभयो ।
स्थानीय र चौकीटोल प्रहरी चौकीको टोलीले उनीहरुको उद्दार गरी अस्पताल पठाएको छ । घाइतेमध्ये सन्तोष भ्लोन र दिनेश चौधरीको मकवानपुर सहकारी अस्पतालमा तथा अरुण चौधरीको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको शरीरका विभिन्न भागमा चोट लागेको र अवस्था मध्यम रहेको छ । यसअघि शुक्रबार पनि सोही क्षेत्रमा घर भत्काउने क्रममा हेटौँडामा डेरा गरी बस्ने २८ वर्षीय द्वारिका यादव घाइते भएका थिए भने गत मंगलबार बिहान हेटौंडा–१ स्थित सुदीप थापाको घर भत्काउने क्रममा दुर्घटना भएको थियो । सडक विस्तारका क्रममा भत्किएको घर सफा गर्दा अचानक दुई तला माथिबाट ढलान खस्दा रौतहट घर भई हेटौंडा–१० बुद्धचोक बस्ने १९ वर्षीय जितेन्द्र माझी घाइते भएका थिए । उनको टाउको र शरीरमा चोट लागेको थियो ।
मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहन राज जोशीले सडक विस्तारका क्रममा भत्किएका संरचना र सडकपेटीमा थुप्रिएका सामग्री व्यवस्थापनका लागि प्रशासनले आवश्यक समन्वय गरिरहेको बताउनुभयो । सडक विस्तारको काम अघि बढे पनि भत्किएका घरटहराका भग्नावशेष (स्क्र्याब) व्यवस्थापन हुन नसक्दा सिर्जना भएको अन्योल र जोखिमलाई मूल्यांकन गरेर व्यवस्थापनका लागि सरोकारवाला निकायहरूसँग निरन्तर छलफल भइरहेको उहाँले बताउनुभयो । जीर्ण अवस्थामा रहेका घर अगाडि सडकपेटीमै पसल सञ्चालन भइरहेकाले सुरक्षा चुनौती बढाएको सम्भावित दुर्घटना रोक्न प्रशासन सचेत रहेको उहाँले बताउनुभयो । ‘हाम्रो भूमिका आवश्यक समन्वय, सहजीकरण र सुरक्षा प्रदान गर्ने हो’, जोशीले भन्नुभयो, ‘अहिले पनि सडक डिभिजन कार्यालय, हेटौँडा उपमहानगरपालिका, उद्योग वाणिज्य संघ र स्थानीय व्यवसायीहरुसँग समन्वय गरेर सडक सफा गर्ने तथा सामग्रीहरु हटाउने काम भइरहेको छ ।’ कुनै पनि अप्रिय घटना घट्न नदिन र सडकलाई छिटो भन्दा छिटो व्यवस्थित गर्न प्रशासनले स्थानीय तह र निजी क्षेत्रसँग समन्वयको कामलाई तीव्रता दिएको उहाँको भनाइ छ ।
