Home मुख्य समाचार फस्टाउँदो लागूऔषध कारोबार

फस्टाउँदो लागूऔषध कारोबार

गत बिहीबार मकवानपुर प्रहरीले एकै दिन विभिन्न ठाउँबाट लागूओषधसहित मानिस पक्राउ गर्यो । पूर्वपश्चिम राजमार्गको हेटौंडा–१५, रातोमाटेबाट प्रहरीले लागूऔषध खैरो हेरोइनसहित ५ जनालाई पक्राउ गरेको छ । रातोमाटेबाट तीन पटकमा ५ जनालाई लागूऔषधसहित पक्राउ गरेको प्रहरीले सोही दिन भीमफेदी–३ बाट ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ । बिहीबार नै प्रहरीले हेटौंडा–५, सानोपोखराबाट पनि लागूऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको थियो । प्रहरीले एकैदिन धेरै तिरबाट लागूऔषधसहित मानिस पक्राउ गर्नुले लागूऔषध ओसारपसार, बेचविखन र सेवन बढेको अनुमान गर्न सकिन्छ । बारम्बार विभिन्न प्रकारका लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरु लागूऔषधसहित पक्राउ पर्दा लागूऔषध समस्या जटिल बन्दै गएको देखिन्छ ।

बिहीबार बिहान ९ बजेर ५० मिनेटको समयमा जितपुर–सिमरा हुँदै हेटौंडातर्फ आएको मोटरसाइकलमा सवार दुई जनालाई लागूऔषध खैरो हेरोइनसहित पक्राउ गरेको थियो । वीरगञ्जका २१ वर्षीय र २३ वर्षीय युवालाई जुत्ताभित्र लुकाएर ल्याएको १ सय ६० मिलिग्राम खैरो हेरोइनसहित प्रहरीले पक्राउ गरेको हो । बिहीबार राति ९ बजेर १० मिनेटको समयमा सोही ठाउँबाट प्रहरीले ३ जनालाई खैरो हेरोइनसहित पक्राउ गरेको थियो । वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको यात्रुबाहक भ्यानमा सवार चितवनको राप्ती नगरपालिकाका २८ वर्षीय युवालाई लागूऔषध खैरो हेरोइन १ ग्राम ६२० मिलिग्रामसहित पक्राउ गरेका थियो । सोही समयमा अर्को यात्रुबाहक भ्यानमा सवार हेटौंडा–१२ का २७ वर्षीय युवक र मनहरी–३ का ३० वर्षीय युवकलाई लागूऔषध खैरो हेरोइन ४८० मिलिग्रामसहित प्रहरीले पक्राउ गरको छ । सोही दिन भीमफेदी–३, पान्द्राङस्थित भित्री बाटोमा रोकिराखेको बोलेरो गाडीबाट ४ सय ७० केजी गाँजा बरामद भएको थियो । साँझ ५ बजेर १५ मिनेटको समयमा हेटौंडा–५, सानोपोखराबाट २४ वटा पोका बनाएको अवस्थामा खैरो हेरोइन २ ग्राम २७० मिलिग्रामसहित एक जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

पछिल्लो समय हेटौंडाबाट बाक्लो संख्यामा लागूऔषध कारोबारी र सेवनकर्ताहरु पक्राउ परिरहेका छन् । हेटौंडाको रातोमाटे चेकपोष्टमा सवारी साधन तथा यात्रुलाई चेकजाँच गर्ने क्रममा र विशेष सूचनाका आधारमा अन्यत्रबाट प्रहरीले लागूऔषध बरामद गर्ने गरेको छ । मकवानपुरमै उत्पादन भएर बिक्रीका लागि अन्यत्र लैजाँदै गरेको गाँजा पनि बारम्बार प्रहरीले पक्राउ गर्दै आएको छ । सीमा क्षेत्रका भारतीय बजारबाट ल्याइएको लागूऔषध पनि हेटौंडामा धेरै बरामद हुने गरेका छन् । लागूऔषध सहित प्रहरीले पक्राउ गर्ने गरेको मानिसमा अधिकांश युवा हुने गरेका छन् । बारम्बार लागूऔषधसहित युवाहरु पक्राउ पर्ने क्रम चलिरहनुले लागूऔषधको दुव्र्यसन र कारोबार भयावह बन्ने खतरा बढाएको छ । हेटौंडामा पक्राउ भएका लागूऔषध सबै यहीँ प्रयोग नहुने भए पनि त्यसले कतै न कतै लागूऔषध दुव्र्यसनीको संख्या बढाउन मद्दत गर्ने निश्चित छ ।

प्रहरीले पक्राउ गरेर कानुनी कारबाही गरिरहेको भए पनि लागूऔषध समस्या भयावह बन्ने संकेत देखिएको छ । हेटौंडा र आसपासका क्षेत्रमा लागूऔषधसहित मानिस पक्राउ गर्ने क्रम व्यापक बनिरहँदा यसको कारोबार भने फस्टाउँदै गएको आभाष हुन्छ । समाजमा बालबालिकादेखि युवा र वयस्कसम्म लागूऔषध दुव्र्यसनको सिकार बन्ने डर पनि बढेको छ । लागूऔषधको कुलतमा लागेकाले आफ्नो भविष्य अन्धकार बनाउनेमात्र होइन, परिवार र समाजमा पनि थुप्रै समस्या निम्तने जोखिम पनि बढाएको छ । फस्टाउँदै गएको लागूऔषध कारोबार र दुव्र्यसनको समस्या न्यूनीकरण गर्न सुरक्षा निकाय थप सक्रिय हुनुपर्छ । लागूऔषधको समस्याबाट जोगिन आम नागरिक आफैँ सचेत हुनुपर्छ । सचेत नागरिकले परिवारका सदस्य, आफन्त तथा समुदायका अन्य व्यक्तिहरुको क्रियाकलापलाई निगरानी तथा खबरदारी गरेमा लागूऔषध समस्या कम हुनसक्छ ।

Exit mobile version