एक्काइसौं शताब्दीमा पनि विश्वका सबैजसो देशमा महिलाहरु कुनै न कुनै हिंसाबाट पीडित हुने गरेका छन् । नेपालजस्तो विकासशील देशमा त हिंसा पीडित महिलाहरुको संख्या अझ बढी पाइने गरको छ । पुरुषको तुलनामा प्रायः सबै देशमा महिलाहरु उपेक्षित र उत्पीडित छन् । घरपरिवार र समाजमा महिलाहरु भेदभाव, अन्याय, अत्याचार, अमानवीय, अमर्यादित र अपमानित भएर बाँचिरहेका छन् । देश र समाज जति सचेत, शिक्षित, विकसित भए पनि हिंसाका घटना कम हुन सकेको छैन । त्यसमाथि पनि लैङ्गिक हिंसा अझ बढी भइरहेका छन् । लैङ्गिक हिंसाको मुख्य कारण कुरीति, कुसंस्कार र पितृसत्तात्मक सोच रहेका छन् । महिलालाई बोक्सीको आरोपमा यातना दिने, जबरजस्ती करणी गर्ने, बेचविखन तथा देह व्यापारमा संलग्न गराउने, कुटपिट तथा अन्य शारीरिक÷मानसिक यातना दिने अधिकांश घटना यस्तै कारण हुने गरेका छन् । यस्तै, छाउपडी, दाइजो, तिलकजस्ता कुप्रथाका साथै बालविवाह, बहुविवाहजस्ता कुरीति बढ्दै जाँदा महिलाले मर्यादित र सम्मानित जीवनयापन गर्न पाएका छैनन् ।
विश्वभर लैङ्गिक हिंसा कम गर्ने उद्देश्यले प्रत्येक वर्ष १६ दिने अभियान सञ्चालन गरिँदै आएको छ । २५ नोभेम्बरमा लैङ्गिक हिंसाविरुद्ध अन्तर्राष्ट्रिय दिवसको दिनदेखि सुरु भएर १० डिसेम्बरमा मानव अधिकार दिवसका दिनसम्मलाई १६ दिने अभियानको रुपमा विभिन्न कार्यक्रम गरेर मनाउने गरिएको हो । यस वर्ष पनि ‘प्रविधिको सही प्रयोग गरौंः लैङ्गिक हिंसा अन्त्य गरौँ’ भन्ने राष्ट्रिय नारा र ‘युनाइट टु इण्ड डिजिटल भ्वाइलेन्स अगेन्स अल वुमेन एण्ड गल्र्स’ भन्ने अन्तर्राष्ट्रिय नारासहित अभियान सम्पन्न भएको छ । सूचना तथा सञ्चार प्रविधिको विकास र बढ्दो प्रयोगसँगै हिंसाका नयाँ–नयाँ स्वरुपहरु विकास भइरहेको छ । सामाजिक सञ्जाल र इन्टरनेटका अन्य माध्यमबाट हुने हिंसामा बढोत्तरी भइरहेको साइबर अपराधका घटनामा प्रहरीमा दर्ता हुने उजुरीको संख्या पुष्टि गरिरहेको छ । १६ दिने अभियानका क्रममा केही सचेतनामूलक कार्यक्रम गरेर प्रविधि सदुपयोग हुनेमा विश्वस्त हुने अवस्था देखिँदैन ।
लैङ्गिक हिंसालाई सामान्यरुपमा महिलामाथि हुने हिंसा बुझ्ने गरेको भए पनि कतिपय पुरुष पनि हिंसाको सिकार बन्ने क्रम बढेका कारण यसले भविष्यमा थप चुनौती बढ्ने सम्भावना देखिएको छ । हिंसाका घटनामा महिला बढी पीडित हुने गरेको आधारमा महिलालाई मात्र बढी महत्व दिँदा भविष्यमा लैङ्गिक हिंसाबाट पीडित हुने पुरुषको संख्या नबढ्ला भन्न सकिन्न । महिला सशक्तिकरणका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबाट थुप्रै कामहरु हुने गरेका छन् । ठूला–ठूला आन्दोलन र संघर्षबाट पनि महिलाले धेरै अधिकार पाएका छन् । यस्तो अवस्थामा हिंसाका घटना कम नहुनुले महिलाको अवस्था सुधार गर्नुपर्ने आवश्यकता बोध गराएको छ ।
लैङ्गिक हिंसालाई कम गर्न विभिन्न दिवस मनाउने र अभियान सञ्चालन गर्ने गरिए पनि नेपाली समाजमा लैङ्गिक हिंसा कम हुन सकेको छैन । औपचारिकताका लागि केही सरकारी तथा गैरसरकारी निकायले सचेतनामूलक कार्यक्रम गरेर अभियान सम्पन्न गर्दैमा लैङ्गिक हिंसा अन्त्य हुने सम्भावना छैन । अभियान सम्पन्न भएपछि लैङ्गिक हिंसाका घटनामा कमी आयो भनेमात्र अभियानको सार्थकता रहन्छ । लैङ्गिक हिंसाबाट बढीजसो महिलाहरु पीडित हुने गरेका कारण अभियानका क्रममा सञ्चालन गरिएका गतिविधि पनि महिलाप्रति नै केन्द्रित बन्ने गरेका छन् । महिला तथा पुरुष दुबै लैङ्गिक हिंसाको सिकार बन्न सक्ने भएकाले सोही अनुरुपको कानुनी व्यवस्था हुनुपर्छ । भएका कानुनको प्रभावकारी कार्यान्वयनबिना हिंसा न्यूनीकरण हुन सक्दैन ।











