हेटौंडा : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले उत्पादन र उद्यमीसँग जोडिएका कार्यक्रमहरु बागमती सरकारको प्राथमिकतामा रहने बताउनुभएको छ । ंमंगलबार ११ औं उद्योग दिवसको अवसरमा बागमती प्रदेश उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको आयोजनामा भएको नवप्रवर्तन उद्यमी सम्मान कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले उद्यमी र उद्योगका बिषयहरु प्रदेश सरकारको प्राथमिकतामा पर्ने बताउनुभएको हो ।
नेपालको व्यवस्था पटकपटक परिवर्तन भए, अब जनताको अवस्था परिवर्तन गर्न आर्थिक उपार्जन र विकास गर्नुपर्नेमा मुख्यमन्त्री बानियाँले जोड दिनुभयो । उहाँले प्रदेश सरकारले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयमार्फत् सीप विकास तालिमहरुका साथै ५० प्रतिशत अनुदानमा प्रविधिसमेत हस्तान्तरण गर्दै आइरहेको स्मरण गर्दै आगामी दिनमा प्रदेश सरकारले नवप्रवर्तन उद्यमीहरु बढाउन महिला तथा अन्य सिमान्तकृत समूहहरु लक्षित बिनाब्याज कर्जा उपलब्ध गराउने तयारीमा रहेको उल्लेख गर्नुभएको छ ।
कार्यक्रममा उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री बिन्दु श्रेष्ठले उद्योग क्षेत्रको प्रवद्र्धन गर्न मन्त्रालयले निजी क्षेत्रका सम्भावना र चुनौतीहरुबारे अध्ययन तथा अनुगमन गर्ने गरेको बताउनुभयो । उहाँले मन्त्रालयले उद्यमीहरुलाई स्मार्ट सेवा प्रदान गर्दै सेवाग्राहीका काम आधा घण्टामै सम्पन्न हुने गरी नमुना कार्यालयमा परिणत गर्न लागि परेको जानकारी दिनुभयो ।
बागमती प्रदेश हस्तकला संघका महासचिव मनमोहन सिंह मल्लले निजी उद्यमीहरुको समस्या तथा चुनौतीबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । मन्त्रालयका प्रशासन महाशाखा प्रमुख हेमराज तामाङले हाल प्रदेशमा उद्योग तथा उद्यमीहरुको अवस्थाबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा प्रदेशका एक जना सर्वोत्कृष्ट र १३ वटै जिल्लाबाट एक–एक जना गरी १३ जनालाई उत्कृष्ट उद्यमीको रुपमा सम्मान गरिएको छ । नवप्रवर्तन उद्यमी सम्मान मापदण्ड २०८१ अनुसार मापदण्ड पुगेकामध्येबाट छानिएका सर्वोत्कृट उद्यमीले करसहित नगद १ लाख रुपैयाँ र १३ जना उत्कृष्ट उद्यमीहरुले प्रतिउद्योग ४० हजार रुपैयाँका दरले पुरस्कार रकम प्राप्त गरेका छन् ।
कार्यक्रममा सम्मानित भएका उद्यमीहरुले नवप्रवर्तन उद्यमी सम्मान मापदण्ड २०८१ अनुसार आफैंले प्रविधि डिजाइन गरी सञ्चालन गरेको, धेरै संख्यामा श्रमिकहरुलाई पूर्ण रोजगारी दिएको, स्थानीय स्रोत र साधन प्रयोग गरी उद्यम सञ्चालन गरेको, विशेष प्राथमिकता समूहलगायत उत्पादित वस्तुको ब्राण्डिङ तथा बजारीकरण राम्रो भएका उद्यमीेले बढी अंक प्राप्त गरी पुरस्कृत भएका हुन् । गत असोज २४ गते मन्त्रालयले सूचना जारी गर्दै १३ वटै जिल्लाका १३ नवप्रवर्तन उद्यमीहरुलाई उत्कृष्ट तथा सर्वोत्कृष्ट सम्मानको दाबी गर्दै जिल्लास्थित उद्योग तथा वाणिज्य कार्यालयमार्फत् आवेदनको लागि आह्वान गरेको थियो ।
कार्यक्रममा मुख्यमन्त्री तथा उद्योगमन्त्रीका साथै कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुदन पौडेल, आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज अधिकारी, सामाजिक विकास मन्त्री कञ्चन चन्द्र बादे, आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङ, सहकारी तथा गरिबी निवारण मन्त्री बिनु रायमाझीलगायत विभिन्न मन्त्रालयका सचिवहरु, उपभोक्ता हित संरक्षण मञ्च, प्रदेश हस्तकला संघलगायतका संघसंस्थाका प्रतिनिधिसहित प्रदेशका उद्यमीहरुको सहभागिता थियो । सम्मान कार्यक्रमसँगै उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको प्राङ्गणमा विजेता उद्यमीहरुको उत्पादन प्रदर्शन गर्ने उद्देश्यले १४ वटा उत्पादनका स्टलहरुसमेत राखिएको थियो ।
