हेटौँडा : बागमती प्रदेशको ३ जिल्लामा छुट्टाछुट्टै घटनामा एकैदिन ३ जनाको मृत्यु भएको छ । प्रदेशको नुवाकोट, चितवन र काभ्रे जिल्लामा सोमबार ३ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
नुवाकोटको शिवपुरी गाउँपालिका–६, तमौरो टोलमा आगो पोलेर घाइते भएकी वृद्धाको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा ९६ वर्षीया प्रेम कुमारी बुढाथोकी रहेको प्रहरीले जानकारी दिएको छ । कात्तिक ३० गते बिहान ७ बजेर ३० मिनेटको समयमा आफ्नै घरको अगेनामा आगो ताप्ने क्रममा आगोले पोलि घाइते भएकी थिइन् । घाइते वृद्धालाई उपचारका लागि काठमाडौंस्थित विर अस्पताल लगिएको थियो । उपचारको क्रममा वृद्धाको सोमबार बिहान ७ बजेर १० मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
काभ्रेको नमोबुद्ध नगरपालिका–४, सिद्धि बिनायक बस्तिमा एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा ३० वर्षीय सन्दिप कुमार चिमौरिया रहेको प्रहरीले जानकारी दिएको छ । सोमबार दिउँसो ३ बजेर ३० मिनेटको समयमा सन्दिप अचानक बेहोस भएका थिए । सन्दिपलाई उपचारका लागि मेथिनकोट अस्पताल भकुण्डे लगिएकोमा दिउँसो ४ बजेर ४५ मिनेटको समयमा चिकित्सकले मृत्त घोषना गरेको प्रहरीले जानकारी दिएको छ ।
चितवनको भरतपुर महानगरपालिका–२०, नयाँ बजारमा धारामा लडेर एक जना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा ६९ वर्षीय शुक बहादुर सार्की रहेको प्रहरीले जानकारी दिएको छ । वृद्ध सोमबार राती ८ बजेको समयमा धारामा लडिरहेको अवस्थामा फेला परेका थिए । उनलाई उपचारका लागि भरतपुर सरकारी अस्पताल लगिएकोमा राती ९ बजेर ११ मिनेटको समयमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।
