हेटौँडाः सहिद स्मारक ‘सी’ डिभिजन छनोट खेल्न बुधबार पिप्ले युवा क्लबको बिदाई गरिएको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुन लागेको छनोट प्रतियोगितामा खेल्न क्लबका टोली आज बिहिबार बिहान काठमाडौंमा प्रस्थान गर्ने छ ।
बिहीबारदेखि सुरु हुने प्रतियोगितामा पिप्ले युवा क्लबसहित देशभरका ३९ वटाको टिमको सहभागिता रहनेछ । ३९ वटा टिमलाई १३ वटा समूहमा विभाजन गरिएको छ । पिप्ले क्लब समूह ‘एफ’ मा रहेको छ । समूह ‘एफ’ मा पिप्लेसँगै पञ्चकोशी युवा क्लब र मुसौरिया फुटबल क्लब रहेको छ । पिप्ले युवा क्लबले प्रतियोगिताको आफ्नो पहिलो खेल शुक्रबार मुसौरिया फुटबल क्लबसँग खेल्नेछ । दोस्रो खेलमा मंसिर १२ गते पञ्चकोशी युवा क्लबसँग भिड्ने छ । सबै समूहबाट समुह विजेताले प्रतियोगिताको क्वार्टरफाईनल प्रवेश गर्नेछ । प्रतियोगिताको विजेता र उपविजेता टोलीले ‘सी’ डिभिजनमा प्रवेश पाउनेछ । प्रतियोगिताको सबै खेल काठमाडौं सातोदोबाटो स्थित एन्फा कमप्लेक्समा हुनेछ ।
विदाई कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै हेटौंडा–५ का वडा अध्यक्ष सुशील घिमिरेले आगामी दिनमा पिप्ले युवा क्लबलाई ‘बि’ डिभिजनको खेलहरु खेल्न १० लाख र हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाले ‘ए’ डिभिजन खेल्न ५० लाख रुपैयाँ सहयोग गर्ने बताउनु भयो । विदाई कार्यक्रममा एन्फाका केन्द्रिय सदस्य टिकाराम लामा, वरिष्ठ पत्रकार प्रताप विष्ट, मकवानपुरे कोच विजयलाल श्रेष्ठ कमाने फुटबल एकेडेमीको अध्यक्ष रमेश थापा, पिप्ले युवा क्लबका अध्यक्ष सुविन घिमिरेको उपस्थिति रहेको थियो ।
