Home मुख्य समाचार पठन संस्कृति अभिवृद्धि आवश्यक

पठन संस्कृति अभिवृद्धि आवश्यक

पछिल्लो समय बालबालिका तथा वयस्क सबैमा पठन संस्कृति ह्रास हुँदै गएको छ । सूचना प्रविधिको विकाससँगै मोबाइल र इन्टरनेटको सहज उपलब्धता र पहुँचका कारण मानिसमा पुस्तक तथा अन्य छापिएका सामग्री पढ्ने बानि कम भइरहेको छ । विशेषगरी सामाजिक सञ्जालको बढ्दो प्रयोगका कारण धेरैले पुस्तक तथा पत्रपत्रिका पढ्न छाडेका हुन् । बालबालिका तथा युवाहरु भने विभिन्न प्रकारका अनलाइन गेममा व्यस्त हुँदा उनीहरुमा पनि पढ्ने बानि हट्दै गएको छ । पठन संस्कृति कमजोर बन्दै जाँदा विशेषगरी विद्यार्थीलाई धेरै हानि पुगिरहेको छ भने यसबाट अभिभावक तथा शिक्षक पनि चिन्तित बनिरहेका छन् । पढाइमा विद्यार्थीको ध्यान कम हुँदै जाँदा पठन संस्कृति अभिवृद्धि गर्नुपर्ने अपरिहार्य बन्दै गएको छ ।

बालबालिकालाई पुस्तक वा पाठ्य सामग्रीहरु पढ्न प्रोत्साहित गर्ने उचित वातावरण सृजना नभएमा भविष्यका कर्णधार शिक्षामा कमजोर बन्ने सम्भावना बढ्दै गएको छ । बालबालिकाको पठन संस्कृति विकासका लागि सबैले सोच्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै समृद्ध समाज दैनिकले आफ्नो १६ औं वार्षिकोत्सवको अवसरमा पठन संस्कृतिको विकासमा अभिभावकको भूमिका विषयमा छलफल चलाएको छ । छलफलमा सहभागी वक्ता तथा अन्य अतिथिले अभिभावक स्वयम्ले आफ्ना बालबालिकामा पठन संस्कृति बढाउनुपर्नेमा जोड दिएका छन् । छलफलका वक्ताहरुले विद्यालयहरुले पुस्तकालय व्यवस्थापनमा ध्यान दिनुपर्ने बताएका छन् । बालबालिकाको अगाडि अभिभावक मोबाइल तथा सामाजिक सञ्जालमा रमाउँदा बालबालिका पनि त्यसैमा आकर्षित हुने समस्या औंल्याइएको छ । अभिभावकहरु बालबालिकालाई पढ्न निर्देशन दिएर अन्तैतिर लाग्ने प्रवृत्तिले बालबालिका बालबालिका पढ्नमा ध्यान नदिने गरेको बताइएको छ ।

अभिभावकले घरमा र शिक्षकले विद्यालयमा पठनपाठनका विभिन्न क्रियाकलापमा बालबालिकालाई सहभागी गराएर प्रेरित गर्नुपर्ने औंल्याइएको छ । पठन संस्कृति अभिवृद्धिका लागि विद्यालयका शिक्षकहरुलाई आवश्यक तालिम दिनुपर्ने र अभिभावकलाई सचेत बनाउनुपर्नेमा जोड दिइएको छ । अभिभावक तथा शिक्षकहरु मिलेर बालबालिकामा पठन संस्कृति विकास गर्न सकिने भएकाले विद्यालयका साथै वडा तथा टोल विकास संस्थाहरुले पनि पुस्तकालय र सामूहिक अध्ययन केन्द्रको व्यवस्था गर्नुपर्ने सहभागीको भनाइ छ । बालबालिकाको उमेर अनुसारको उपयुक्त पुस्तक उपलब्ध गराएर पढाइप्रति आकर्षित गर्नु उचित हुने बताइएको छ ।

विद्यालय तहका मात्र नभई विश्वविद्यालय तहमा अध्ययन गर्ने विद्यार्थीहरुमा पनि पठन संस्कृति कमी हुँदै गएको छ । पठन संस्कृतिको विकास गर्न उमेर अनुसारको उपयुक्त पठन सामग्रीको व्यवस्थापन उत्तिकै महत्वपूर्ण हुन्छ । यसका लागि पुस्तकालय सबैभन्दा उपयुक्त माध्यम बन्ने निश्चित छ । बालबालिकामा बढ्दो मोबाइलको लतलाई कम नगरी पठन संस्कृतिको विकास सम्भव देखिँदैन । विद्यालयमा शिक्षकको कर–बलले जेनतेन पाठ्यपुस्तक पढे पनि घरमा अभिभावकले उचित वातावरण सृजना गर्न नसक्दा बालबालिकाले पढ्न छाडेको जगजाहेर छ । साक्षर अभिभावक आफू पनि बालबालिकाको अगाडि लेखपढ गरिदिने र बालबालिकालाई सँगै राखेर पढ्न प्रेरित गर्ने हो भने धेरै हदसम्म पठन संस्कृतिको विकास हुनसक्छ । बालबालिकालाई पाठ्यपुस्तक र सन्दर्भ सामग्रीका अतिरिक्त विद्यालय तथा घरमा उनीहरुको उमेर तथा रुचि अनुसारका पाठ्यसामग्री व्यवस्था गरी पठन संस्कृति विकास गराउनु उचित हुनेछ ।

Exit mobile version