हेटौँडा : अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हेटौँडामा एन्फा प्रेसिडेन्ट लिग बुधबारबाट सुरु हुने भएको छ । हेटौंडा–६ स्थित गौरीटार रंगशालामा बुधबारबाट सुरु हुने प्रतियोगिताको फाइनल खेल मंसिर ४ गते हुनेछ । एन्फाले सोमबार पत्रकार सम्मेलनमार्फत लिगबारे जानकारी गराउँदै प्रतियोगिता लिग–कम–नकाउटको आधारमा संचालन हुनेछ । एन्फाका प्रवक्ता सुरेश शाहका अनुसार प्रतियोगितामा प्रदेशका १० टोलीले सहभागी हुने जानकारी गराइएको हो ।
प्रतियोगिताको विजेता टोलीले १० लाख रुपैयाँ र दोस्रो टोलीले ५ लाख रुपैयाँसहित ट्रफि प्राप्त गर्नेछ भने विधागत तर्फ फेर प्ले टिम र मोस्ट भ्यालुएवल टिमलाई ५० हजार रुपैयाँसहित ट्रफि, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल किपरलाई २५ हजार रुपैयाँ, हरेक खेलका प्लेयर अफ द म्याचलाई ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।
लिगमा गाईघाट फुटबल क्लब (उदयपुर), जनजागृती युवा क्लब (बर्दिया), देउराली युथ क्लब (धनकुटा), काक्रेविहार युथ क्लब (सुर्खेत), नवजनजागृती (बारा), विजय स्पोट्र्स क्लब (कैलाली), चित्लाङ फुटबल क्लब (काठमाडौं), हैरान्स क्लब (तनहुँ), टाइगर्स टिम टिकाताथल (दोलखा) र लालीगुराँस एसोसिएसन क्लब (कास्की) छन् । सो टिमहरु एन्फामा आवद्ध भई जिल्ला लिगबाट च्याम्पियन भई प्रदेश लिगमा छनौट भएका क्लबहरु रहेको उहाँले बताउनुभयो ।
प्रतियोगिताको सेमिफाइनल पुग्ने ४ टोलीले राष्ट्रिय लिगका लागि छनोट हुनेछन् । प्रतियोगितमा प्रत्येक टिमले ‘ए’ डिभिजनका ३ र राष्ट्रिय टिमका २ गरी ५ जना खेलाडी दर्ता गर्न सक्ने व्यवस्था गरिएको प्रवक्ता शाहले बताउनुभयो । प्रतियोगिताले स्थानीयस्तरको प्रतिभालाई राष्ट्रियस्तरमा पु¥याउन सहयोग पुग्ने विश्वास लिएको र कुनैपनि टिमले विदेशी खेलाडीलाई टिममा दर्ता गर्न नपाउने प्रावधान रहेको उहाँले जानकारी दिनुभयो ।
एन्फाले प्रतियोगितमा सहभागी क्लबहरुलाई ७ लाख रुपैयाँका दरले तयारी खर्च समेत उपलब्ध गराएको जनाइएको छ । प्रतियोगिता सञ्चालनका लागि १ करोड ५४ लाख ५४ हजार रुपैयाँ बजेट रहेको प्रवक्ता शाहले बताउनुभयो । प्रतियोगिता संचालनका लागि स्थानीय आयोजक मकवानपुर जिल्ला फुटबल संघ रहेको छ ।
















