Home मुख्य समाचार शारदा माविको छात्रवृत्ति अक्षयकोषमा १४ लाख

शारदा माविको छात्रवृत्ति अक्षयकोषमा १४ लाख

हेटौँडा : मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–५, धादिङस्थित शारदा माध्यमिक विद्यालयको अक्षयकोषमा १४ लाख रुपैयाँ जम्मा भएको छ । २०७५ सालमा स्थापना गरिएको अक्षयकोषमा १४ लाख रुपैयाँ रकम जम्मा भएको विद्यालयका प्रधानाध्यापक इन्द्र कार्कीले जानकारी दिनुभयो । गरिब, विपन्न, जेहेन्दार, अभिभावकविहीन, अपाङ्ग र कमजोर आर्थिक अवस्था भएका बालबालिकाहरूलाई गुणस्तरीय शिक्षामा पहुँच पुर्‍याउने लक्ष्यका साथ छात्रवृत्ति अक्षयकोषको स्थापना गरिएको प्रधानाध्यापक कार्कीको भनाइ छ ।

२०७५ सालको तिहारको अवसरमा कार्कीकै परिकल्पना र नेतृत्वमा विद्यार्थीको सहभागितामा आयोजित देउसी–भैलो कार्यक्रमबाट कोषको स्थापना भएको थियो । देउसीबाट संकलित दान सहयोगबाट सुरु भएको कोषको विस्तारका लागि मकवानपुरगढी दरबार परिसरमा भूतपूर्व विद्यार्थीहरूको सम्मेलन आयोजना गरिएको थियो । सम्मेलनमा भूतपूर्व विद्यार्थी, शिक्षक, समाजसेवीको ऐच्छिक सहयोगबाट कोष थप विस्तार भएको हो ।

कोष स्थापनाको प्रमुख लक्ष्य विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरूलाई आवश्यक सहयोग उपलब्ध गराउनु रहेको प्रधानाध्यापक कार्कीको भनाइ छ । राज्यले घोषणा गरेको अनिवार्य तथा निःशुल्क शिक्षा र माध्यमिक तहसम्मको अधिकार स्थानीय तहलाई दिइएको सन्दर्भमा कोषले शिक्षाको व्यवस्थापन, कार्यान्वयन र मौलिक हकको पुनः कार्यान्वयनमा महत्वपूर्ण सहयोग पुर्‍याउने वडा अध्यक्ष दिपेश दहालले बताउनु भयो । वडामा एकमात्र माध्यमिक विद्यालय रहेकोले यस अक्षयकोषले विद्यार्थीको समन्यायिक पहुँच सुनिश्चित गर्ने र विद्यालय छोड्ने दकम हुने विश्वास वडा अध्यक्ष दहालले व्यक्त गर्नुभयो ।

मकवानपुरगढीको वडा नम्बर ३, ४, ५ र ६ तथा भीमफेदी गाउँपालिकाको वडा नम्बर १ कार्यक्षेत्र भएको यस विद्यालयमा विकट भौगोलिक र विभिन्न समस्याहरूको सामना गर्दै विद्यार्थीहरू अध्ययनका लागि आउने गर्छन् । विद्यार्थीहरुलाई पोशाक, शैक्षिक सामग्री र अन्य आवश्यक सामग्री उपलब्ध गराउँदा शिक्षाको गुणस्तरमा प्रत्यक्ष सकारात्मक प्रभाव पर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युवराज सापकोटाको भनाइ छ ।

अक्षयकोषमा ५०० रुपैयाँभन्दा बढी आर्थिक सहयोग गर्ने दाताहरूलाई सम्मानसहित उनीहरूको नामावली विद्यालयको शिलालेखमा राख्ने तयारी रहेको छ । कोषमा संकलित रकम विद्यार्थी छात्रवृत्तिबाहेक अन्यत्र खर्च गर्न नपाइने तर त्यसबाट प्राप्त व्याजको ९० प्रतिशत रकमबाट वार्षिक छात्रवृत्ति वितरण गर्ने निर्णय गरिएको छ । विद्यालयको स्वर्ण महोत्सव यसै वर्ष मंसिर महिनाको पहिलो सातामा मनाइनेछ । यस महोत्सवबाट यस वर्षदेखि सुरु गरी वार्षिक रूपमा निरन्तर छात्रवृत्ति वितरण गर्ने कार्यक्रम रहेको बताइएको छ । यो पहलले शारदा माध्यमिक विद्यालयका विद्यार्थीहरूको शैक्षिक भविष्य उज्ज्वल बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

Exit mobile version