Home मुख्य समाचार छुट्टाछुट्टै घटनामा एकैदिन ४ जनाको मृत्यु

छुट्टाछुट्टै घटनामा एकैदिन ४ जनाको मृत्यु

सांकेतिक तस्वीर ।

हेटौँडा : बागमती प्रदेशको ४ जिल्लामा छुट्टाछुट्टै घटनामा एकैदिन ४ जनाको मृत्यु भएको छ । मंगलबार चितवन, सिन्धुली, सिन्धुपाल्चोक र नुवाकोट जिल्लामा एकैदिन ४ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जाकनारी दिएको छ ।

चितवनको भरतपुर महानगरपालिका–२, जल्माहलमा अचेत अवस्थामा फेला परेका पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षीय पदम जैसि रहेको प्रहरीले जानकारी दिएको छ । मंगलबार राती ११ बजेर ५० मिनेटको समयमा पदम कोठामा अचेत अवस्थामा फेला परेका थिए । पदमलाई उपचारका लागि सरकारी अस्पताल भरतपुर लगिएको थियो । उपचारको क्रममा पदमलाई डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।

नुवाकोटको विदुर नगरपालिका–५, जाल्पा मन्दिरमा त्रिसुली नदिमा हामफाली बेपत्ता भएकी महिला मृत फेला परेकी छन् । मृत फेला पर्नेमा बिदुर नगरपालिका–८, खुर्सानिखोलाकी ५१ वर्षीया उमादेवी भट्ट रहेको प्रहरीले जानकारी दिएको छ । सोमबार साँझ ५ बजेर ३० मिनेटको समयमा उमादेवी त्रिसुली नदिमा हाम फाली बेपत्ता भएकी थिइन् । महिलालाई खोजतलास गर्दै जाँदा मंगलबार बिहान १० बजेर १० मिनेटको समयमा गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८, वर्खेघाटस्थित त्रिशुली नदि किनारामा मृत फेला परेको प्रहरीले जानकारी दिएको छ ।

सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–१, खमारेमा खोलामा डुबेर एक जना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेका ७२ वर्षीय जय बहादुर खड्का रहेको प्रहरीले जानकारी दिएको छ । खड्का मंगलबार खमारे खोलामा डुबर मृत अवस्थामा फेला परेका थिए ।

सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–९, नयाँबस्ती नजिकै बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मंगलबार दिउँसो २ बजेको समयमा वि.पि.राजमार्गमा बर्दीबासबाट कटारीतर्फ जाँदै गरेको ग २ ख ११४१ नम्बरको बसले विपरीत दिशा सिन्धुलीबाट बर्दीबासतर्फ जाँदै गरेको बा १६ प ७३३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ । बसको ठक्कराट मोटरसाइकल चालक काभ्रे जिल्लाको भुल्लु गाउँपालिका–९ घर भई काठमाडौँ महानगरपालिका–७, बस्ने १८ वर्षीय शौगात माझी र पछाडी सवार भारत देश मोतिहारी घर भई हाल काठमाडौं बस्ने १८ वर्षीय सागर आलम घाइते भएका थिए । घाइते दुवैलाई उपचारका लागि जिल्ला अस्पताल सिन्धुली लगिएको थियो । उपचारको क्रममा चालक सौगातको दिउँसो २ बजेर ३० मिनेटको समयमा मृत्यु भएको थियो । सागरको धुलीखेल अस्पतालमा उपचार भई रहेको छ । बस चालक महोत्तरी जिल्ला बर्दीबास नगरपालिका–३ का ३८ वर्षीय चित्र बहादुर थापा मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Exit mobile version