हेटौँडा : बागमती प्रदेशको ४ जिल्लामा छुट्टाछुट्टै घटनामा एकैदिन ४ जनाको मृत्यु भएको छ । शुक्रबार विभिन्न घटनामा चितवन, काभ्रे, सिन्धुपाल्चोक र दोलखा जिल्लाका एकैदिन ४ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
चितवन जिल्लाको खैरहनी नगरपालिका–११, सिद्धार्थचोकमा कुलोको पानीमा डुबेर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा ३७ वर्षीय आइतराम तामाङ रहेको प्रहरीले जानकारी दिएको छ । शुक्रबार दिउँसो ३ बजेको समयमा तामाङ घर नजिकै रहेको कुलोको पानीमा डुबेर मृत अवस्थामा फेला परेका थिए ।
काभ्रेको नमोबुद्ध नगरपालिका–६, भडार गाउँमा रोशी खोलामा डुबेर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा ६४ वर्षीय कामी सिंह तामाङ रहेको प्रहरीले जानकारी दिएको छ । तामाङ मंगलबार बिहान ८ बजेर ३० मिनेटको समयमा रोशी खोलामा माछा मार्न गएका थिए । घर फर्केर नआएकोले खोजी गर्दै जाँदा शुक्रबार बिहान ८ बजेको समयमा खोलाको बीचमा मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका–७, खाँडीमा एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखा जिल्लाको जिरी नगरपालिका–६, बस्ने ५२ वर्षीय लिला बहादुर जिरेल रहेको प्रहरीले जानकारी दिएको छ । निमोनियाका बिरामी भएका जिरेलको दोलखास्थित च्छोरोल्पा अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा बाटोमा सास फेर्न समस्या भए पश्चात सिन्धुपाल्चोकको खाँडीचौरस्थित सिन्धु सदाबहार अस्पतालमा लगिएको थियो । उपचारको क्रममा शुक्रबार बिहान ११ बजेर ३० मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
दोलखा जिल्लाको भिमेश्वर नगरपालिका–३, तार्थलीमा एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा ५९ वर्षीय नर बहादुर कठायत रहेको प्रहरीले जानकारी दिएको छ । कठायत शुक्रबार बिहान ११ बजेको समयमा घरको छतमा लडेर बेहोस अवस्थामा फेला परेका थिए । कठायतलाई उपचारका लागि दोलखास्थित पशुपति चौलागाई स्मृति अस्पताल चरिकोट लगिएको थियो । सुरक्षाजाँचको क्रममा दिउँसो ३ बजेको समयमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।
