Home खेलकुद मेयर कप फुटबल प्रतियोगिता, पेनाल्टीमा हेटौँडा–१ विजयी

मेयर कप फुटबल प्रतियोगिता, पेनाल्टीमा हेटौँडा–१ विजयी

मेन अफ द म्याच विश्व लामा १ नम्बर वडा खेलाडी

हेटौँडा : हेटौँडामा जारी पाँचौ संस्करणको मेयर कप फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार दुई खेल भएको छ । हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा पहिलो खेल हेटौँडा–१ र हेटौँडा–१४ बीच भएको थियो । निर्धारित समय गोलरहित बराबरी भएपछि खेलको निर्णयका लागि पेनाल्टीको सहारा लिनु परेको थियो । पेनाल्टीमा हेटौँडा–१ ले ४–१ गोलअन्तरले हेटौँडा–१४ लाई पराजित गरेको छ ।

यस्तै मंगलबार भएको दोस्रो खेलमा हेटौँडा–१० र हेटौँडा–१९ बीचको खेल भने अनिर्णित बनेको छ । निर्धारित समयको खेल सक्किन ७ मिनेट बाँकी रहँदासम्म गोलरहित बराबरीको स्थितिमा रेफ्रीले हेटौँडा–१९ विरुद्ध पेनाल्टी दिने निर्णय गरेपछि विवाद भएको थियो । विवादसँगै हेटौँडा–१९ का खेलाडीहरू मैदानबाट बाहिरिँदा खेल स्थगित हुन पुग्यो । खेलको निर्णय बुधबार आयोजकले गर्ने बताइएको छ ।

मंगलबार भएका दुबै खेल सोमबार वर्षाले प्रभावित भएको खेल भएको हो । हेटौँडा उपमहानगरका १९ वटै वडाको सहभागिता रहेको प्रतियोगिताको विजेताले २ लाख ५० हजार रुपैयाँ र उपविजेताले २ लाख रुपैयाँसहित सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

Exit mobile version