हेटौँडा : हेटौँडा–काठमाडौं त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको भीमफेदीमा यात्रुवाहक भ्यान दुर्घटना हुँदा घाइते भएका १४ जना यात्रुको परिचय खुलेको छ । मंगलबार दिउँसो १ बजेको समयमा भीमफेदी गाउँपालिका–९, छैसठ्ठी मोडमा यात्रुवाहक विङ्गर गाडी दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चित्लाङबाट सर्लाहीको लालबन्दी जाँदै गरेको प्रदेश २–०३–००१ ज ०१४७ नम्बरको विङ्गर गाडी सडकबाट २० मिटर तल खसेको थियो । ब्रेक फेल भएर दुर्घटनाग्रस्त गाडी सल्लाको रुखमा अड्किएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका सर्लाही जिल्लाको लालबन्दी नगरपालिका–१५, परमानीपुरकी २८ वर्षीया अम्बरी लो लामा, लालबन्दी–१६ परमानीपुर भोलोनाका ३६ वर्षीय रितिक राई, ४५ वर्षीय पदम बहादुर श्रेष्ठ, ५१ वर्षीय राजाराम बस्नेत, ३० वर्षीया शान्ता विक, लालबन्दी–१ नवलपुरका ५६ वर्षीय कमल थापाको मकवानपुर सहकारी अस्पताल लगिएको छ ।
यस्तै लालबन्दी नगरपालिका–४, का सरोज कुमार चौधरी, लालबन्दी नगरपालिका–१५, का २७ वर्षीया निर्मला विक, २२ वर्षीया निलिमा खड्का, २२ वर्षीया सिमा घलान, लालबन्दी नगरपालिका–५, का ५० वर्षीया समिर सुवेदी, लालबन्दी–१६ की २७ कि कल्पना विक, २५ वर्षीया सुस्मा विक, ३२ वर्षीया पवित्रा घिसिङलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएको छ । दुर्घटनामा गम्भिर ३ जना, मध्यम ८ जना र सामान्य ३ जना रहेका छन् । घाईते मध्य पुरुष ६ जना र महिला ८ जना रहेको प्रहरीले जानकारी दिएको छ ।
