Home मुख्य समाचार खेलकुदमा स्पष्ट खाका बनाऔं

खेलकुदमा स्पष्ट खाका बनाऔं

सोमबार मकवानपुर जिल्ला बक्सिङ संघको आयोजनामा जिल्लास्तरीय बक्सिङ प्रतियोगिता सम्पन्न भयो । जिल्लास्तरीय प्रतियोगितामा हेटौँडास्थित बक्सिङ प्रशिक्षण केन्द्रमा प्रशिक्षणरत ३८ जना खेलाडी मात्रै सहभागी थिए । यसअघि जिल्लास्तरीय बक्सिङ प्रतियोगिता कहिले भयो भन्ने यकिन गर्न मकवानपुर जिल्ला बक्सिङ संघका अध्यक्ष सुशील घिमिरे र प्रशिक्षक लालबहादुर पौडेललाई जानकारी छैन । यस्तै मकवानपुर क्रिकेट क्लबको आयोजनामा यु–१६ जिल्लास्तरीय टि–२० क्रिकेट टिम निर्माण गर्न आयोजित छनोट प्रतियोगिता आइतबार सम्पन्न भयो । पछिल्लो एक महिनाको अवधिमा हेर्छौं भने राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगितादेखि नगरस्तरीय भलिबल प्रतियोगिता, स्नुकर, फुटबल, कराते, शारीरिक सुगठन, हक्की लगायतका प्रतियोगिता भएका छन् ।

हेटौँडामा हुने खेलकुद प्रतियोगितामा हेटौँडा उपमहानगरपालिकासहित सबै पालिकाले लगानी गरिरहेको देखिन्छ । हेटौँडा उपमहानगरको सन्दर्भमा त हरेक खेलमा उपमहानगरको लगानी देखिन्छ । प्रतियोगिता आयोजना हुनु खेलकुदको विकासका लागि महत्वपूर्ण हुन्छ । तर, प्रतियोगिता आयोजना मात्रै खेलकुदको विकासका लागि पर्याप्त भने होइन । प्रतियोगिता आयोजना गर्नु भनेको खेलको स्तर कस्तो छ भन्ने बुझ्ने, बुझाउने अवसर हो । त्यसभन्दा पहिले हरेक खेलको नियमित प्रशिक्षण, हरेक खेलको लक्ष्य, खेलको विकासका लागि आवश्यक पूर्वाधार, जनशक्ति, जिल्ला, प्रदेश हुँदै राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा हाम्रो उपस्थितिको अवस्था र अवसरलाई समेत मनन् गरेर तयारी गर्नु जरुरी हुन्छ । कतिपय अवस्थामा हाम्रो प्राथमिकताको खेल कुन हुने भन्ने पनि यकिन गरिनु जरुरी हुन्छ ।

खेलकुद प्रतियोगितासँगै खेलकुदको जनशक्ति निर्माण पनि जरुरी छ । त्यसमा पनि लगानी आवश्यक छ । तर, खेलकुदको स्पष्ट खाका नबनाई प्रतियोगिताको आयोजना मात्रै गरिनु जायज हुन्न । स्पष्ट खाका बनाउने हो भने हेटौँडा उपमहानगरसहित मकवानपुरका १० वटै पालिका र जिल्लाले नै आआफ्नो प्राथमिक खेल पहिचान गर्नुपर्छ । पालिका र जिल्ला हुँदै प्रदेश राजधानी समेत भएकोले हेटौँडाले प्रदेशकै सन्दर्भमा पनि खेलको प्राथमिकीकरण गरिनु प्रभावकारी हुन सक्छ । जसले खेलकुदको प्रभावकारी विकास सम्भव हुन्छ ।

खेलकुद प्रतियोगिताहरु भइरहने तर, आधारभूत सुविधासहितको खेल पूर्वाधार भने नहुनु अर्को बिडम्बना हो । खेलकुद पूर्वाधार बिना खेलकुदको दीगो र अपेक्षित विकास हुन सक्दैन । तसर्थ खेलकुद पूर्वाधार, दीर्घकालिन योजनासहित खेल प्रशिक्षण र प्रतियोगिताको खाका बनाएर अगाडि बढ्ने विषयमा स्थानीय, प्रदेश र संघीय सरकारका निकायले गम्भीरताका साथ ध्यान दिनुपर्छ । जसले अपेक्षित विकासको आधार तय हुनेछ । तीनै तहका सरकारलाई जवाफदेही र जिम्मेवार बनाउन खेल सम्वद्ध व्यक्तित्व र पदाधिकारीहरुले पनि काम गर्नु जरुरी छ । अहिले खेलसम्बद्ध संघ, संस्थाका पदाधिकारीहरु प्रतियोगिता आयोजनामै बढी सक्रिय देखिन्छ । नियमित जसो विविध खेलकुद भइरहँदा ती खेलको अभ्यासको समीक्षा र प्रभावकारी योजना निर्माणमा भने ध्यान नपुग्नु दुखद् विषय हो । तसर्थ खेलकुदको समग्र विकास गर्ने गरी सघन समीक्षासहित दीगो लक्ष्यसहित स्पष्ट खाकासहित अगाडि बढ्न सरकारहरु र सरोकारवालालाई आग्रह समेत गर्दछौं ।

Exit mobile version