हेटौँडा : नेपाल क्रिकेट संघ (क्यान) ले पुरुष क्रिकेट टिमको क्याम्पसमा शनिबार २५ जनाको नाम समावेश गरेको छ । क्यानले आसन्न आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डमा हुने सिरिजका लागि कोर क्याम्पमा ५३ खेलाडीलाई राखेको थियो । क्यानले शनिबार दोस्रो चरणको क्याम्प लिस्टमा २५ खेलाडीको नाम सार्वजनिक गर्दा मकवानपुरका रिजन ढकाल र शुभ कंशाकार अटाएका छन् । रिजन पछिल्लो समय नेपाली राष्ट्रिय टिमको नियमित सदस्यको रुपमा रहेका छन् भने शुभ अहिलेसम्म राष्ट्रिय टिममा पर्न सकेका छैनन् ।
कोर टिमको अभ्यास खेलमा मकवानपुरका शुभले राम्रो प्रस्तुती दिएका थिए । क्यानले सार्वजनिक गरेको २५ जनाको सूचिमा अलराउण्डर कुशल मल्ल नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमको क्याम्पबाट बाहिरिएका छन् । यस्तै देव खनाल, कोर क्याम्पमा शतक प्रहार गरेका उशान पाण्डे, उमेर समूह र घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गरेका युवा ब्याटर अर्जुन कुमाल जस्ता खेलाडी अटाएनन् । यस्तै, मिडियम पेसर कमल सिंह ऐरी पनि २५ जनामा अटाएनन् ।
क्याम्पबाट २८ खेलाडी बाहिरिएका छन् । २५ जनाको लिस्टमा युवा स्पीनर युवराज खत्रीले भने स्थान बनाएका छन् । आईसीसी यू–१९ क्रिकेट विश्वकप छनोटमा राम्रो प्रदर्शन गरेका युवराज त्यसपछि कोर क्याम्पमा थपिएका थिए । उनले दोस्रो चरणमा पनि स्थान बनाएका छन् । राष्ट्रिय टिमबाट अहिलेसम्म नखेलेका मकवानपुरका शुभ कंसाकारसँगै रुपेश कुमार सिंह, किरण ठगुन्ना र युवराज खत्रीले २५ सदस्यीय टोलीमा स्थान बनाएका छन् । नेपालले जुनमा स्कटल्याण्ड र नेदरल्याण्डसँग स्कटल्यान्डमै लिग टू को सिरिज खेल्नेछ । त्यसको तयारीका लागि नेपालले यही मे मा यूके भ्रमण गर्नेछ । यूके भ्रमणमा नेपालले एमसीसीसहित चार क्लब टोलीसँग खेल्नेछ । त्यसपछि नेपालले स्कटल्याण्ड ए टोलीसँग दुई अभ्यास खेल खेल्नेछ ।
