भिरकोट (बकैया) : भूमि समस्या समाधान आयोग मकवानपुरले बकैया गाउँपालिका–७, भिरकोटका भूमिहिन सुकुम्बासीलाई जग्गाधनी पूर्जा वितरणको गरेको छ । आइताबार एक कार्यक्रमका बिच आयोग मकवानपुरले जग्गाधनी पूर्जा वितरण गरेको हो ।
संघीय सरकारको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीको उपस्थितिमा जग्गाधनी पूर्जा वितरण गरिएको हो । पछिल्लो पटक गठित भूमि समस्या समाधान आयोगले पहिलो पटक मकवानपुरमा जग्गाधनी पूर्जा वितरण गर्ने तयारी गरेको हो । बकैया गाउँपालिकासँगको समन्वयमा ४० जना भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र १९ अव्यवस्थित बसोबासीहरुलाई लालपुर्जा वितरण गरिएको आयोग मकवानपुरका सदस्य कविन सांगामीले जानकारी दिनुभयो ।
आयोग मकवानपुरले वडाले प्रविष्ट गरेको विवरण माथि छानविन गरी भूमिहिन नागरिकहरुलाई पूर्जा वितरणको गरिएको उहाँले बताउनु भयो । आवास र कृषी प्रयोजनका लागि भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गाधनी पुर्जा उपलब्ध गराएको उहाँको भनाई छ । अघिल्लो कार्यकालमा भएको निर्णयलाई निरन्तरता दिँदै आयोग मकवानपुरले बकैया–७ का भुमिहिन सुकुम्बासीलाई न्युनतम २ धुरदेखि अधिकतम ५ कठ्ठासम्म जग्गा उपलब्ध गराएको उहाँले बताउनुभयो ।
