Home मुख्य समाचार पत्रकारको हत्या तथा सञ्चारकर्मी र सञ्चार गृहमा गरिएको आक्रमण विरुद्ध सञ्चारकर्मी आन्दोलित

पत्रकारको हत्या तथा सञ्चारकर्मी र सञ्चार गृहमा गरिएको आक्रमण विरुद्ध सञ्चारकर्मी आन्दोलित

विरोध र्‍याली तथा सभा उपस्थित सञ्चारकर्मीहरु ।

हेटौँडा : पत्रकारको हत्या तथा सञ्चारकर्मी र सञ्चार गृहमा गरिएको आक्रमण विरुद्ध पत्रकारले देशव्यापी विरोध कार्यक्रम गरेको छ । शुक्रबार काठमाडौंको तीनकुनेमा भएको घटनाको विरोध गर्दै शनिबार बिहान मकवानपुरका पत्रकारले विरोध र्‍याली र सभाको आयोजना गरेको छ ।

पत्रकार र सञ्चार क्षेत्रमाथिको आक्रमण बन्द गर, पत्रकार हत्याको छानविन गर, पत्रकार सुरेश रजकको हत्यारालाई कारवाही गर, आन्दोलन शान्तिपूर्ण हुनुपर्छ नागरिकको सम्पत्ति जलाउन पाईँदैन, नागरिक स्वतन्त्रताको रक्षा गर, पत्रकार सुरक्षाको ग्यारेण्टी गर, प्रेस स्वतन्त्रता जिन्दावाद भन्दै पत्रकारहरुले विरोध जनाएका छन् ।

शुक्रबार समाचार संकलनको क्रममा हिंसात्मक आक्रमणमा परी निधन भएका पत्रकार सुरेश रजकको हत्यारामाथि छानविनको माग गर्दै पत्रकार आन्दोलित भएका हुन् । पत्रकारको हत्यारालाई कारवाही नभएसम्म पत्रकारहरु निरन्तर आन्दोलनमा उत्रने जनाएको छ । हेटौंडा–२ स्थित पल्पसा सदनबाट सुरु गरिएको विरोध र्‍याली हेटौंडा बजारको सिमाचोक आएर कोणसभामा परिणत गरिएको थियो ।

पत्रकार महासंघको स्थापना दिवसमा पत्रकार र मिडियामाथि आक्रमण भएपछि महासंघले पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेर विरोध प्रदर्शन गरेको हो । विरोध सभालाई नेपाल पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्ट, पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष हरि हुमागाई, महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, गैरसरकारी संस्था महासंघका आरती पाठक लगायतकाले विरोध जनाउँदै आफ्नो धारणा राखेका थिए ।

Exit mobile version