बिहीबार ललितपुरलाई पराजित गर्दै फाइनल प्रवेश गरेको काठमाडौं जिल्लाको चित्लाङ फुटबल क्लबको टिम ।

हेटौँडा ः बागमती प्रदेश लिग फुटबल प्रतियोगिताको फाइनलमा काठमाडौं र दोलखा भिड्ने भएको छ । पुस २० शनिबार हुने प्रतियोगिता अन्तर्गतको फाइनल खेलमा काठमाडौं र दोलखा भिड्ने निश्चित भएको हो ।

फाइनल खेल शनिबार २ बजे हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा हुनेछ । यसअघि बिहीबार सम्पन्न सेमिफाइनल खेलमा काठमाडौंले ललितपुरलाई पराजित भएसँगै काठमाडौं फाइनलमा प्रवेश गरेको हो भने बुधबार सम्पन्न सेमिफाइनल खेलमा दोलखाले सिन्धुलीलाई हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो ।

फाइनल पुगेको दोलखाको टिम ।

दोस्रो संस्करणको बागमती प्रदेश लिग फुटबल प्रतियोगिताको सेमिफाइनल खेलमा काठमाडौंको चित्लाङ फुटबल क्लबले ललितपुर फुटबल क्लबलाई ३–१ गोलअन्तरले पराजित गरेको हो । काठमाडौंको तर्फबाट पहिलो हाफको ३ मिनेटमा यमन महर्जनले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ४२ औं मिनेटमा ललितपुरका तर्फबाट रामकृष्ण चौधरीले गोल गर्दै खेललाई १–१ गोलको बराबरी पु¥याएका थिए ।

खेलको ४८ औं मिनेटमा काठमाडौंका महर्जनले पुनः गोल गर्दै टिमलाई २–१ को अवस्थामा उभ्याएका थिए । दोस्रो हाफको सुरुवातमा पछि परेको ललितपुर सो पश्चात खेलमा फर्कन सकेन । खेलको ६६ औं मिनेटमा काठमाडौंका तर्फबाट सुजित बुढाथोकीले गोल गर्दै अग्रता दोब्बर गरे । सो पश्चात ललितपुरले खेलमा पुनरागमन गर्न नसकेपछि हार व्यहोर्न बाध्य भएको हो । म्यान अफ द म्याच काठमाडौंका महर्जन घोषित हुँदै ३ हजार रुपैयाँको नगदसहित ट्रफी प्राप्त गरे ।

प्रदेशका १३ जिल्ला मध्ये ११ जिल्लाको लिग विजेता फुटबल क्लबको सहभागिता रहेको प्रतियोगिताको विजेताले २ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले १ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ ।