हेटौँडा : बागमती प्रदेश सरकारले संघीय सरकारबाट सरुवा भई आएका ३ र प्रदेशको एक सचिवको पदस्थापन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय सरकारबाट सरुवा भई आएका ३ जना र प्रदेशमा हालै बढुवा भएका एक जना सचिवलाई पदस्थापन गर्ने निर्णय गरेको हो ।
प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेका अनुसार संघीय सरकारले सरुवा गरी पठाएका डा. सुमित्रा गौतम, विरेन्द्र देव भारती र रितेश कुमार शाक्यलाई पदस्थापन गर्ने निर्णय गरेको छ भने प्रदेश निजामती ऐन अनुसार ११ औं तहमा बढुवा भएका खुविराम अधिकारीलाई पदस्थापन गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले डा. गौतमलाई प्राविधिक क्षेत्रको रहेकाले स्वास्थ्य मन्त्रालयमा पदस्थापन गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।
डा. गौतम यसअघि भक्तपुर अस्पतालको मेडिकल सुपेरिटेण्डेन्टको जिम्मेवारीमा रहेर काम गर्दै आउनुभएको थियो । उहाँ प्रदेशको अधिकृत स्तर ११ औं तहको कर्मचारी सरह हुनुहुन्थ्यो । प्रदेश निजामती ऐन अनुसार अधिकृतस्तर ११ औं तहको कर्मचारी प्रदेश सचिवसरह रहने व्यवस्था रहेको छ । मन्त्रिपरिषद् बैठकले अन्य ३ जना कर्मचारीको पदस्थापनका लागि विभाग तोक्ने जिम्मेवारी मुख्यमन्त्री बहादुर सिंह लामालाई तोकेको छ ।
मुख्मयन्त्री लामाका सचिवालयका अनुसार प्रदेशमा रिक्त अन्य ६ निकायमा उनीहरुको जिम्मेवारी तोक्ने तयारी रहेको छ । मुख्यमन्त्री लामाले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रिक्त एक सचिव पदमा रितेश कुमार शाक्यलाई जिम्मेवारी तोक्ने तयारी गरिएको छ भने हालै बढुवा भएका प्रदेशका अधिकृत स्तर ११ औं तहका अधिकारीलाई शिक्षा निर्देशनालयको महानिर्देशक बनाउने तयारी रहेको सचिवालयको भनाई छ । निर्देशनालयको महानिर्देशक रहेका दिपेन्द्र सुवेदीको जिम्मेवारी भने संस्कृति तथा पर्यटन मन्त्रालयमा तोक्ने मुख्यमन्त्री लामाको तयारी रहेको सचिवालयले जनाएको छ । संघबाट सरुवा भएर आउनुभएका भारती भने सम्पर्कमा नआउनुभएकोले उहाँको पदस्थापनको विषय बारे पछि निर्णय गरिने सचिवालयको भनाई छ । सो विषयमा निर्णय भइसकेको भएपनि मुख्यमन्त्री लामाले आधिकारी निर्णय भने बाहिर ल्याउनुभएको छैन ।
मुख्यमन्त्री लामा माथि सुवेदी र सामाजिक विकास मन्त्रालयका सचिव बद्रीनाथ गैरेको जिम्मेवारीका विषयमा समस्य भइरहेको बुझिएको छ । सुवेदीलाई सामाजिक विकास मन्त्रालयमा ल्याएर गैरेलाई अन्यत्र व्यवस्थापन गर्नुपर्ने लविङका कारण मुख्यमन्त्री लामा समस्यामा पर्नुभएको छ । सो विषयमा प्रमुख सचिव डा. हरिप्रसाद लम्सालले साविकका ७ वटा मनत्रालयमा संघीय कर्मचारी सचिव रहनु पर्ने अडान लिनुभएको छ । संघीय सरकारले साविकको ७ वटा मन्त्रालयका आधारमा दरवन्दी कायम गरेकाले सोही अनुसार जिम्मेवारी तोक्नुपर्ने धारणा प्रमुख सचिव डा. लम्सालको रहेको छ । जसका कारण मुख्यमन्त्री लामाले निर्णय रोक्नुभएको हो ।