Home मुख्य समाचार पटक पटक हारेर पनि नहराएका तिवारी, तेस्रो प्रयासमा ढल्यो माओवादी किल्ला

पटक पटक हारेर पनि नहराएका तिवारी, तेस्रो प्रयासमा ढल्यो माओवादी किल्ला

हेटौंडा १२ को वडाअध्यक्ष निर्वाचित अर्जुनप्रसाद तिवारी । फाइल तस्विर ।

हेटौँडाः हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१२ मा पहिलो पटक काँग्रेसले जित निकालेको छ । लगातार माओवादीले जित्दै आएको उक्त वडामा पहिलो पटक काँग्रेस उम्मेदवारले जित निकालेका हुन् । काँग्रेसका अर्जुनप्रसाद तिवारीले स्थानीय तह उपनिर्वाचन अन्तर्गत मंसीर १६ गते भएको निर्वाचनमा पहिलो पटक काँग्रेसलाई जिताएका हुन् । उनले माओवादीका उम्मेदवार रवि कुमार प्रधानलाई हराउँदै विजयी भएका हुन् । तिवारीले २ हजार ६३ मत सहित चुनाव जित्दा माओवादीका प्रधानले १ हजार ५६० मत पाएका थिए । तेस्रो स्थानमा रहेको एमालेका उम्मेदवार राजेश नगरकोटीले १ हजार ७८ मत प्राप्त गरेका थिए ।

यसअघि तिवारी उक्त वडाको वडा अध्यक्ष पदको निर्वाचनमा २ पटक पराजित भएका थिए । संघीयता कार्यान्वयन पश्चात भएको २ वटा स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट उम्मेदवार बनेका तिवारी माओवादी केन्द्रका उम्मेदवारसँग पराजित भएका थिए । २०७४ को स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रका ललित बहादुर घलानसँग पराजित भएका तिवारी २०७९ को स्थानीय तह निर्वाचनमा पनि पुनः पराजित भए । दुवै निर्वाचनमा झिनो मतान्तरे हारेका तिवारी निरन्तर गाउँमा नै रहेर काम गरिरहे । पदविहीन बने तर, गाउँ छाडेनन् । दुवै निर्वाचनमा माओवादीका घलानले जित निकाल्दा तिवारी दोस्रो बने । तर, गाउँको विकास र नागरिकको सेवामा उनी दोस्रो कहिल्यै बनेनन् ।

धैर्यता र लगनशीलताका कारण आफू निर्वाचनमा सफल भएको उनी बताउँछन् । तामाङ बाहुल्य हेटौंडा–१२ हेटौंडा उपमहानगरपालिकाको पिछडिएको क्षेत्र अन्तर्गत पर्दछ । ग्रामिण भेग र व्याप्त समस्याका बीचबाट वडावासीलाई पार लगाउन आफू उनी निरन्तर कर्मशील भएर लागेको उनी बताउँछन् । ‘म २०७४ को चुनावमा नै जित्थेँ । तर, प्राविधिक कारणले त्यतिबेला १०० मतले हार्नुपर्यो’, उनले भने, ‘नागरिकले त्यतिबेला नै मतले अनुमोदन गरेका थिए । तर, बदर मत र केही विषयहरु व्यवस्थापन गर्न नसक्दा चुनाव हार्नुपरेको थियो । २०७९ मा पनि नागरिकले चुनाव जिताएका हुन् । ३१ मतान्तरले चुनाव हारेको थिएँ त्यतिबेला । चुनाव हार्नुको कारण महसुस गरेर धैर्य गरिरहे । कमजोरी पत्ता लगाएर आफ्नो कर्ममा लागि रहेँ । अहिले कमजोरी सच्याएँ । बिग्रेका विषयलाई सुधार गरेँ । अनि चुनाव जितेँ ।’

पञ्चायतकालदेखि नै गाउँको विकास र नागरिकको सेवामा काम गर्दै आएका तिवारी पटक–पटक चुनाव हारे तर, गाउँबाट हराएनन् । पदमा नरहेपनि उनी गाउँमा बजेट पु¥याएर विकासको काममा सक्रिय भए । वडा अध्यक्ष जितेकाले भन्दा बढी बजेट आफूले पहुँच पुर्याएर गाउँ लगेको उनी दावी गर्छन् । चुनाव हारेपनि गाउँलाई नै कर्मभूमि बनाएर नागरिकको दुःखको सारथी बनेका तिवारीले आफ्नै पहुँचमा समानुपातिक रुपमा सडक पुल, खानेपानी, सिंचाई, पर्यटन, संस्कृति क्षेत्रमा बजेट लगेर विकासको काम गरेको दावी गर्छन् ।

गाउँका मानिसलाई समस्यामा उनी पक्षपात नगरी सहयोग गर्न पुगिहाल्छन् । सोही कारणले नागरिकले आफुलाई चुनाव जिताएको उनको भनाई छ । निर्वाचन भएपश्चात आफू वडा विकासमा लाग्ने बताए । २ वर्ष भित्र गाउँका सडक पुल निर्माणको काम गरेर शहरी रुप दिने उनले बताए । शिक्षा र स्वास्थ्यको पूर्वाधार तथा अवस्था कमजोर रहेकाले त्यसलाई सुधारका लागि प्राथमिकताका साथ अघि बढ्ने उनको भनाई छ । उपमहानगरपालिकाको स्रोतले गाउँको विकासलाई पर्याप्त नहुने भएकाले छिट्टै नै संघ र प्रदेश सरकारबाट बजेट माग गरेर विकासको काम अघि बढाउने योजना बनाएको तिवारी बताउँछन् । गाउँको स्वरुपसहितको विकासको योजना २०७४ मा नै निर्माण गरेर अघि बढेकाले त्यसको कार्यान्वयनको मिसन सुरु भएको उनले बताए ।

२०६३/०६४ को परिवर्तनपछि उक्त वडामा माओवादीको प्रभाव राम्रो थियो । २०६४ को संविधानसभा निर्वाचनमा मकवानपुरको ४ क्षेत्रमा जित निकालेको माओवादीले हेटौंडा–१२ लाई लालकिल्लाको रुपमा परिभाषित गर्दै आएको थियो । पञ्चायतकालमा राप्रपाको गढ तत्कालिन पदमपोखरी गाविसको ४, ५, ७, ८ र ९ वटा वडा मिलेर हाल हेटौंडा–१२ कायम भएको हो । पञ्चायत पश्चात सो क्षेत्रमा एमालेले शासन गर्यो भने २०६४ को निर्वाचन पश्चात माओवादीको किल्ला बन्दै आएको छ । सो वडामा एमालेको प्रभाव पनि राम्रै रहेको छ । संविधानसभा निर्वाचनतका निकै कमजोर अवस्थामा रहेको कांग्रेसलाई १८ वर्षको बलियो जगमा उभ्याउन सफल भएको छ ।

२०६४ र २०७० को निर्वाचनमा सो क्षेत्रमा क्रमशः माओवादी र एमालेले चुनाव जित्यो । तर, विकास निर्माण र सेवा प्रवाह जनताको अपेक्षा अनुसार हुन सकेन । पुलको अभावमा वडावासी खहरे र खोलाको जोखिमै रहे । पुल निर्माण र खानेपानीको योजनासहित पटक–पटक नेता भेट्ने काम भयो तर, न पुल आयो न गाउँलेले खानेपानी पाए । संघीयतापछि २ पटक उक्त वडामा माओवादीले जित्यो । तर, वडाको समानुपातिक विकास हुन सकेन । वडा कार्यालय आसपास ठुला र पक्की सडक बने । तर, तल्लो राप्ती खोलाको क्षेत्र अझै पनि विकास हुन सकेको छेन । २० वर्ष अघिकै अवस्थामा सडक पूर्वाधार कायम रहेको छ ।

संघीयतापछि जसोतसो २ वटा पुलहरु निर्माण भए । आवतजावतमा सहजता भयो । तर, यात्रा अझै पैदल नै रहेको छ । पूर्वाधार बन्यो । तर, व्यवस्थापन हुन सकेन । जसका कारण अझै उक्त क्षेत्रका नागरिकहरु हिँडेर नै हेटौँडा बजार आवतजावत गर्छन् । यसैबीच पटक–पटक चुनाव हारेका कांग्रेसका तिवारीले तेस्रो प्रसासमा माओवादी केन्द्रको लालकिल्ला भत्काउन सफल भएका हुन् । उनको प्राथमिकता पहुँच नपुगेका क्षेत्रको विकास रह्यो र नागरिकको मत जित्न सफल भए ।

Exit mobile version