Home खेलकुद भलिबल उपाधिका लागि थाहा–२ र आयोजक भिड्ने

भलिबल उपाधिका लागि थाहा–२ र आयोजक भिड्ने

फाइल तस्वीर ।

हेटौंडाः मकवानपुरको थाहा नगरपालिकामा जारी थाहा–कैलाश पालिकास्तरीय अन्तर वडा मैत्रीपूर्ण भलिबल खेलमा उपाधि लागि आइतबार थाहा नगरपालिका २ नम्बर वडा र आयोजक सल्ले राम्चे युवा क्लब ‘ए’ टिमबीच प्रतिस्पर्धा हुनेछ । थाहा नगरपालिकाको डाँडावासमा शनिबार सम्पन्न भएको सेमीफाइनल खेलमा थाहा नगरपालिका ५ नम्बर वडालाई ३–० को सेटले हराउँदै २ नम्बर वडा फाइनलमा प्रवेश गरेको छ भने थाहा–७ को सशक्त रातो क्लबलाई ३–२ को सेटले हराउँदै आयोजक ‘ए’ सल्ले राम्चे युवा क्लब फाइनलमा प्रवेश गरेको छ ।

थाहा ५ लाई थाहा २ ले क्रमशः २५–११, २५–१७ र २५–११ को सेटले पराजित गरेको छ । यस्तै दोस्रो सेमीफाइनल खेलमा पहिलो सेटमा २५–१५ ले जित निकालेको आयोजक दोस्रो सेटमा १७–२५ को सेटमा पराजित हुनुपरेको थियो । तेस्रो सेटमा आयोजकले सशक्त रातोलाई २५–१९ को सेटले पराजित गरेको पनि चौथो सेटमा १५–२५ ले पराजित हुनु परेको थियो । तर पाचौँ तथा अन्तिम सेटमा फाइनलमा प्रवेश गर्ने होडमा आयोजकले सशक्तलाई १५–१० ले सहजै पराजित गरेको थियो । प्रतियोगितामा २० वटा टिमहरुको सहभागिता रहेको छ ।

प्रतियोगिताको उपाधि विजेता टिमले ५१ हजार एक सय ५१ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले ३१ हजार एक सय ३१ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै प्रतियोगिताको तृतीय स्थानमा पर्ने टिमले १४ हजार १ सय १३ रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको विधागत खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ । थाहा नगरपालिका ७ नम्बर वडाको मुख्य सहयोगमा प्रतियोगिता सञ्चालन भएको बताइएको छ ।

Exit mobile version