हेटौँडाः बागमती प्रदेशको धादिङ, सिन्धुपाल्चोक र दोलखा जिल्लामा विभिन्न घटनामा परी ४ जनाको मृत्यु भएको छ ।
सोमबार दिउँसो १२ बजेर ४५ मिनेटको समयमा धादिङ जिल्लाको थाक्रे गाउँपालिका–११, महादेववेशीस्थित महेश खोलामा खेल्ने क्रममा ६ वर्षीय बालक इशान दास थारुको खोलाले बगाएर मृत्यु भएको छ । पर्सा जिल्लाको बीरगन्ज महानगरपालिका घर भई दसैं मनाउन ठूलीआमा सुनिता पुरीसँग इशान सुनिता पुरीको माइत महादेववेसी आएका थिए ।
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–६, दारेगौडाभिरमा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते एकजनाको मृत्यु भएको छ । आइतबार दिउँसो ४ बजेर ४५ मिनेटको समयमा चौतारा–स्याउले सडकखण्डमा स्याउलेबाट चौतारातर्फ जाँदै गरेको बा ३८ प १०२० नम्बरको मोटरसाइकल आफैं अनियन्त्रि भई सडक भन्दा करिब ८० मिटर तल खसेको थियो ।
दुर्घटनामा परी मोटरसाइकल चालक सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिका–५ का १७ वर्षीय रमेश गोले र मोटरसाइकलमा सवार २७ वर्षीय दर्बल तामाङ गम्भीर घाइते भएका थिए । दर्बल तामाङको सोमबार दिउँसो १२ बजेर १० मिनेटको समयमा काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । रमेश गोलेको भने काठमाडौंस्थित अर्थमेडिक अस्पताल नारायणटारमा उपचार भइरेहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
दोलखा जिल्लाको मेलुङ गाउँपालिका–१, पवटी, धारापानीमा सोमबार दिउँसो ६० वर्षीय गोरे तामाङ मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । यस्तै मेलुङ गाउँपालिका–६, डाडाँखर्कमा घाँस काट्ने क्रममा बेहोस भएका अजित लामाको मृत्यु भएको छ । दोलखा जिल्लाको भीमेश्वर नगरपालिका–३, चरिघ्याङका ३५ वर्षीय अजित लामा दोलखा जिल्लाको मेलुङ गाउँपालिका–६ डाँडाखर्कस्थित ससुराली घरको बारीमा घाँस काट्ने क्रममा सोमबार दिउँसो अचानक बेहोस भएका थिए । लामालाई उपचारका लागि चरिकोटस्थित पशुपति चौलागाई स्मृति अस्पताल पुर्याइएको थियो । सोमबार दिउँसो ४ बजेर २० मिनेटको समयमा लामालाई मृत घोषणा गरिएको प्रहरीले जनाएको छ ।
