Home मुख्य समाचार बागमती सरकारको आकस्मिक बैठक बस्दै, मन्त्री खोज्दै मुख्यमन्त्री लामा

बागमती सरकारको आकस्मिक बैठक बस्दै, मन्त्री खोज्दै मुख्यमन्त्री लामा

हेटौँडाः बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आकस्मिक रुपमा मन्त्रिपरिषद् बैठक आह्वान गर्नुभएको छ । काठमाडौंमा बस्नेगरी मुख्यमन्त्री लामाले आकस्मिक मन्त्रिपरिषद् तोक्नुभएको छ ।

मन्त्रिपरिषद् बैठक बस्न नुवाकोटमा रहनुभएका मुख्यमन्त्री लामा काठमाडौं जाँदै हुनुहुन्छ । उहाँले सबै मन्त्रीहरुलाई साँझको मन्त्रिपरिषद् बैठक बारे जानकारी गराइसक्नुभएको छ । मन्त्रिपरिषद् बैठकका लागि मुख्यमन्त्री लामा मन्त्रीहरु खोज्न लाग्नुभएको छ ।

केही मन्त्रीहरु विभिन्न कार्यक्रममा राजधानी बाहिर रहेको र विपद्को कारण बाटोमा नै अड्किएकाले उहाँहरुसँग सम्पर्कको प्रयत्न भइरहेको मुख्यमन्त्री लामाले बताउनुभएको छ । मन्त्रीहरुसँग सम्पर्क गरिसके लगत्तै मन्त्रिपरिषद् बैठक बस्ने उहाँको भनाई छ । भौतिक रुपमा उपस्थित हुन नसक्ने मन्त्रीहरुलाई प्रविधिको माध्यमबाट बैठकमा जोड्ने तयारी भएको मुख्यमन्त्री लामाले जानकारी दिनुभयो ।

“केहीबेरमा मन्त्रिपरिषद् बैठक बस्ने तयारी छ । मन्त्रीहरुसँग सम्पर्क गर्न खोजिरहेको छु । केही मन्त्री जिल्ला÷जिल्ला पुग्नु भएको छ । उहाँहरुलाई सूचना पठाइसकेको छु । सम्भव हुनेलाई भौतिक रुपमा सहभागी गराउने र बाहिर हुने मन्त्रीहरुलाई प्रविधि मार्फत् जुम मिटिङमा जोड्ने तयारी छ” मुख्यमन्त्री लामाले समृद्ध समाजसँग कुरा गर्दै भन्नुभयो, “आन्तरिक मामिला तथा कानुन मन्त्री दुम्जामा सडक बन्द भएर रोकिनु भएको छ । आर्थिक मामिला तथा योजना मन्त्री हेटौँडा मै हुनुहन्छ । उहाँहरुलाई त्यतै रहन भनेको छु । म पनि नुवाकोटमा छु । एक घण्टामा काठमाडौं पुग्छु । काठमाडौंमा रहेका मन्त्रीहरुलाई उपस्थित हुन सम्पर्क गरिरहेको छु ।”

बागमती प्रदेशले विपद्का कारण धेरै क्षति व्यहोरेकाले नागरिकलाई सम्बोधन गर्नेगरी मन्त्रिपरिषद् बैठक तय गरेको मुख्यमन्त्री लामाले बताउनुभयो । विपद्को समयमा नागरिकको राहत, उद्दार, व्यवस्थापनका बारेमा छलफल गरी निर्णय गर्न बैठक स्ने तयारी गरिएको उहाँले बताउनुभएको छ ।

Exit mobile version