Home खेलकुद बागमती सरकारले पलेशालाई १० लाख नगदसहित सम्मान गर्ने

बागमती सरकारले पलेशालाई १० लाख नगदसहित सम्मान गर्ने

हेटौँडाः बागमती प्रदेश सरकारले पेरिस पारा ओलम्पिकमा पदक विजेता खेलाडी पलेशा गोवद्र्धनलाई १० लाख रुपैयाँ नगदसहित सम्मान गर्ने भएको छ । संविधान दिवसको अवसरमा प्रदेश सरकारले पलेशालाई १० लाख रुपैयाँ नगदसहित सम्मान गरेर नगरपरिक्रमा गराउने भएको हो ।

पेरिस पारा ओलम्पिकमा कांस्य पदक विजेता पलेशालाई संविधान दिवसको अवसरमा असोज ३ गते बिहिबार भोलि हेटौंडामा नगरपरिक्रमासहित सम्मान गर्ने तयारी भएको प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार पलेशासहित उनका प्रशिक्षक कविराज नेगीलाई ३ लाख र नेपाल तेक्वान्दो संघ बागमती प्रदेश समितिलाई ३ लाख रुपैयाँ प्रदान गरिनेछ ।

त्यस्तै १९ औं एसियाली खेलकुदमा करातेमा नेपाललाई ऐतिहासिक रजत पदक दिलाएकी एरिका गुरुङलाई ५ लाख रुपैयाँसहित सम्मान गरिने मन्त्री महर्जनले बताउनुभयो । एरिकाले एसियाडमा महिला ६८ केजी तौल समूहमा रजत पदक जितेकी थिइन् । एरिकाले २५ वर्षपछि नेपाललाई करातेमा रजत पदक दिलाएकी हुन् । यसअघि सविता राजभण्डारीले देशलाई रजत पदक दिलाएकी थिइन् । नेपालका लागि सन् १९९८ मा बैंककमा भएको १३ औं एसियाली खेलकुदमा तेक्वान्दोकी सविताले पहिलो पटक रजत दिलाएकी थिइन् ।

प्रदेश सरकारले एरिकाको प्रशिक्षक कुशल श्रेष्ठलाई १ लाख रुपैयाँ र नेपाल कराते महासंघ बागमती प्रदेश समितिलाई २ लाख रुपैयाँ प्रदान गर्ने भएको छ । प्रदेश सरकारले आफ्नो क्षेत्राधिकारमा रहेर देशलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने खेलाडीहरुलाई पुरस्कृत गर्ने मन्त्री महर्जनले बताउनुभयो । खेलकुद क्षेत्रको विकास र खेलाडी प्रोत्साहनमा प्रदेश सरकारले लगानी बढाउने उहाँले बताउनुभयो । गत भदौ २६ गतेको मन्त्रिपरिषद्बाटै उक्त निर्णय गर्ने तयारी भएपनि कानुनी समस्याका कारण निर्णय हुन नसकेको उहाँले जानकारी दिनुभयो । मुख्यमन्त्री बहादुर सिंह लामाको योजना अनुसार संविधान दिवसको अवसरमा पदक विजेता खेलाडी, प्रशिक्षक र प्रदेश समितिलाई पुरस्कृत गरिने उहाँको भनाइ छ ।

Exit mobile version