Home अन्तरवार्ता “अभिभावक शिक्षाको महत्व बुझाउन पहल गरेका छौं”

“अभिभावक शिक्षाको महत्व बुझाउन पहल गरेका छौं”

हेमप्रसाद अधिकारी अध्यक्ष, नवज्योति मावि, हेटौँडा–७

विद्यालय शिक्षामा विद्यालय व्यवस्थापन समितिको भूमिकालाई विविध पक्षबाट विश्लेषण गर्ने गरिन्छ । विद्यालय व्यवस्थापन समितिको आवश्यकता रहने र नरहने दुबै पक्षबाट पैरवी हुने गरेको छ । विद्यालयमा अभिभावकको प्रतिनिधित्व, सामाजिक एवम् सहयोगी व्यक्तित्वको उपस्थितिको अवसरको रुपमा विद्यालय व्यवस्थापन समितिलाई जरुरी मानिँदै आएको छ भने विद्यालयमा प्रधानाध्यापकको नेतृत्वमा शिक्षकको समूहको मिहिनेत भए व्यवस्थापन समितिको औचित्य रहन्न भन्ने तर्क पनि प्रस्तुत हुने गरेको छ । विद्यालय व्यवस्थापन समितिको जिम्मेवारी, सक्रियता र योगदानको विषयमा रहेर हेटौँडा–७, नागस्वतीस्थित नवज्योति माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमप्रसाद अधिकारीसँग समृद्ध समाज राष्ट्रिय दैनिकका सम्पादक सुरेश श्रेष्ठले गर्नुभएको कुराकानीः

समाजः विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुनुहुन्छ । विद्यालयमा व्यवस्थापन समितिको अध्यक्षको भूमिका के रहन्छ ?
अधिकारीः विद्यालयको आर्थिक गतिविधिहरुमा कस्तो सहयोग चाहिएको छ, विद्यालयको व्यवस्थापकीय अवस्था बारे जानकारी राख्ने कार्य गरिन्छ । विद्यार्थी अभिभावक र विद्यालयलाई जोड्ने, प्रशासनिक क्षेत्रमा आवश्यक परेको खण्डमा आफैं उपस्थित भई काम गर्नु व्यवस्थापन समितिको अध्यक्षको भूमिकाको रुपमा रहने गरेको छ ।

समाजः विद्यालय व्यवस्थापन समितिको बैठक बस्ने सन्दर्भमा नियमित बस्ने गर्नुहुन्छ कि आवश्यकता भए अनुसार बस्ने गर्नुहुन्छ ?
अधिकारीः
हामी १५ दिनमा नियमित तालिका बने अनुसार विद्यालयको प्रधानाध्यापक समक्ष विद्यालयको अवस्था बुझ्न बैठक बस्ने गर्छाैं । कहिलेकाहीँ आवश्यक भयो भने बीचमा पनि जम्मा हुने गरेका छौं । विद्यालयका शिक्षकलाई १५ दिनमा एक पटक अतिरिक्त परीक्षा लिनु भनेका छौं, त्यस बारे पनि बैठकमा कस्तो नतिजा रहेको छ ? के सुधार गर्न आवश्यक छ ? भनी पनि बैठकमा छलफल गर्ने गरेका छौं ।

समाजः अहिले विद्यालयको सम्पूर्ण अवस्था कस्तो छ । सवल पक्ष चुनौतिहरु के रहेका छन् ?
अधिकारीः
पहिले पनि विद्यालय व्यवस्थापन समितिमा रही रहँदा निजी विद्यालय र सामुदायिक विद्यालयलाई तुलना गर्दा अझ पनि विद्यार्थीको न्युन उपस्थिति रहेको छ । पहिला र अहिलेसम्म पनि धेरै परिवर्तन गर्न खोजे पनि थप सुधार आउन भने सकेको छैन । हामी विद्यालयको अहिलेको अवस्था सुधार गर्न स्थानीय सरकारसँग निरन्तर पहल गरिरहेका छौं । विद्यालयको मुख्य चुनौति भन्नु नै न्यून विद्यार्थी संख्या हो ।

समाजः विद्यालयमा कति विद्यार्थी अध्ययनरत छन् ?
अधिकारीः
वडाको एउटा मात्रै सामुदायिक विद्यालय हो नवज्योति मावि । हाम्रो विद्यालयमा ३ सय भन्दा कम विद्यार्थी रहेका छन् । हाल न्युरेनीमा रहेको पुरानो शारदा विद्यालयको भवनमा बौद्धिक अपाङ्गता भएका २४ जना विद्यार्थी पनि अध्ययनरत छन् । त्यहाँको अवस्था निकै कमजोर रहेको छ । भवन र आवश्यक शैक्षिक सामग्री पनि पर्याप्त छैन । स्थानीय सरकारले सहयोग त गरेको छ तर हामीले नवज्योति नजिकै भवन बनाउन सबै क्षेत्रमा पहल गरेका छौं तर सहयोग पाउने स्थिति खासै राम्रो देखिएको छैन ।

समाजः विद्यालयले वडासँग गर्नुपर्ने पहल कस्तो छ ? विद्यालयका आवश्यकताका बारेमा वडालाई जानकारी दिएको, विद्यालयले सहयोग मागेको प्रक्रिया कस्तो छ ?
अधिकारीः
हाम्रो विद्यार्थी न्युन रहेको र नतिजा पनि खस्किएको अवस्था रहेको छ । यस बारे जनप्रतिनिधिहरुलाई वडादेखि पालिकासम्म जानकारी गराएका छौं । उहाँहरुले पनि चिन्ता त व्यक्त गर्नुभएको छ तर बजेटको सन्दर्भमा वडामा यो वर्ष यसै पनि बजेट कम रहेको छ भन्नु भएको छ । विद्यालयमा भौतिक संरचना बनाउन अत्यन्तै जरुरी रहेको छ । पुस्तकालयको व्यवस्थापन समेत हुन सकेको छैन । र वडाले पालिकामा पहल गर्छाैं भनेको छ । तर केहि सुधार हुने अवस्था देखिएको छैन ।

समाजः समुदायको विद्यालयसँगको अपेक्षा कस्तो छ ? विद्यालयको विषयमा समुदायको बुझाई कस्तो रहेको छ ?
अधिकारीः
समुदायको विश्वास जित्नका लागि विद्यालयको नतिजा रामो ल्याउन जरुरी छ । समुदायले पनि भरोसा गर्न सकिरहेको छैन । शिक्षकको कमि–कमजोरी पो हो कि भन्ने धारणा रहेको छ । तर विद्यालयले धेरै मिहिनेत गरे अनुसार समुदायमा राम्रो छवि दिन सकिरहेको छैन ।

समाजः विद्यालयको प्रधानाध्यापकसँग तपाईबीच हुने छलफल, सहकार्य कस्तो रहेको छ ?
अधिकारीः
विद्यालयमा प्रधानाध्यापकको रुपमा ज्ञानेन्द्र दाहाल सर हुनुहुन्छ । उहाँले योजना बनाउने क्रममा उहाँको भन्दा व्यवस्थापन समितिको धेरै हात पु¥याउनु पर्ने अवस्था छ । उहाँले हाम्रो योजनालाई अस्विकार गर्नु हुँदैन तर सक्रियता पनि कम रहेको महसुस गरेका छौं । उहाँको सेवाअवधि पनि अब धेरै समय बाँकी छैन र त्यसै कारण शैक्षिक सुधारको क्षेत्रमा उहाँको सक्रियता कम रहेको देखेका छौं । उहाँले योजना बनाउनुपर्नेमा हामी चाहीँ धेरै सक्रिय रहेको अवस्था छ ।

समाजः शिक्षकहरुको पाटोमा चाहीँ कस्तो अवस्था छ ? शिक्षकहरुले पनि कस्तो कार्य गर्न आवश्यक छ ?
अधिकारीः
सम्पूर्ण शिक्षकहरुले हामीसँग छलफल गर्दा चिन्ता व्यक्त गर्नुभएको छ । विद्यार्थीले विद्यालयमा जति पढ्यो त्यति र घर गएर गृहकार्य नगर्ने । अभिभावकहरुले पनि चासो नदेखाएको अवस्था छ । विद्यालयका शिक्षकहरुले डायरीमा अभिभावकको हस्ताक्षर समेत गरेर ल्याउन लगाउँदा अभिभावकले हस्ताक्षर नगरेको र मोबाइल मार्फत सम्पर्क गर्दा पनि चासो नदिने जसकारण अभिभावक शिक्षा बढी आवश्यक रहेको गुनासो गरेका छन् । विद्यालयको प्रधानाध्यापक नगर शिक्षा समितिमा रहनु भएको कारण प्रत्यक्ष रुपमा पनि प्रत्येक वडामा अभिभावक शिक्षाको महत्व बुझाउने खालका कार्यक्रम राख्न पहल गरेको छु ।

समाजः अभिभावकको चासो नदेखिएको कारण के देख्नु भएको छ ?
अधिकारीः
हाम्रो विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको अभिभावक धेरै ज्यालादारी गरेर गुजारा गर्ने, आर्थिकरुपमा न्यून अवस्थाको हुनुहुन्छ । उहाँहरुले बालबालिकालाई धेरै ध्यान दिन समेत सक्नु हुन्न । त्यस कारण पनि अभिभावक–शिक्षक बीचको सहकार्य त्यति हुन सकेको छैन ।

समाजः व्यवस्थापन समितिमा रहनुभएका सदस्यहरुको सक्रियता कस्तो रहेको छ ?
अधिकारीः
बजारको विद्यालयहरुका व्यवस्थापन समितिमा रहन तछाड–मछाड हुने देख्छौं भने न्युन विद्यार्थी भएको विद्यालयमा न्युन चासो देखेका छौं । तर हाम्रो विद्यालय व्यवस्थापन समितिका सदस्यहरु सहकार्य गर्नुहुन्छ । योजना बनाउँदा पनि शैक्षिक गुणस्तर सुधार्नु पर्छ भन्ने जस्ता समर्थन गर्नुहुन्छ । तर उहाँहरु आफैं अघि आउने विद्यालयको अनुगमन गर्ने क्षेत्रमा कम खट्नु भएको छ ।

समाजः पछिल्लो समय व्यवस्थापन समितिको सक्रियताले कस्तो सुधार आएको छ ?
अधिकारीः अहिलेको अवस्थामा विद्यार्थीहरु निकै जागरुक हुनुभएको छ । केहि समस्या रहे भने मलाई भन्नुहुन्छ । कोहि शिक्षकले लापरवाहि गरे त्यस्तो विषयमा मलाई खबर गर्नुहुन्छ । यसबाट पनि सुधार हुने अपेक्षा राखेका छौं । हामीले विषयगत शिक्षकलाई आफ्नो विषयमा फेल फ्रि भन्ने योजनामा अघि बढ्न लगाएका छौं । प्रत्येक शिक्षकले आफ्नो विषयमा शत्प्रतिशत उत्तीर्ण गराउने प्रयासमा अघि बढ्न हौसला दिएका छौं । यसले पनि आगामी दिनमा नतिजामा सुधार आउने अपेक्षा राखेका छौं ।

Exit mobile version