Home खेलकुद जोन स्मृति फुटबल प्रतियोगिताः सेमिफाइनल समीकरण पूरा

जोन स्मृति फुटबल प्रतियोगिताः सेमिफाइनल समीकरण पूरा

हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकामा जारी प्रथम संस्करणको जोन राना मगर स्मृति फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । गाउँपालिका वडा–६ स्थित जोगीताल मैदानमा क्वार्टरफाइनल चरणको अन्तिम दुई खेलहरु सम्पन्न भएसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको हो ।

सयपत्री युवा क्लबको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत बिहीबार भएको पहिलो क्वार्टरफाइनल खेलमा लालीगुराँस क्लबलाई २–१ गोल अन्तरले हराउँदै एफसी मिन्थाले सेमिफाइनलमा आफ्नो स्थान बनाएको छ भने राइनो एफसीलाई २–० गोलले हराउँदै आयोजक सयपत्री ‘बी’ले सेमीफाइनलमा आफ्नो स्थान बनाएको छ ।

एफसी मिन्थाबाट मनिष पौडेल र मिलन स्याङ्तानले समान एक–एक गोल गरेका हुन् भने लालीगुराँसको तर्फबाट सुलभ थापाले मात्रै एक गोल फर्काउन सफल भएका छन् । यस्तै, आयोजक सयपत्री ‘बी’को जीतमा सन्तोष थिङ र रमेश मुक्तानले समान एक–एक गोल गरेका हुन् । प्रतियोगिताको सेमिफाइनल खेल भोलि शनिबार हुने खेलतालिकामा उल्लेख गरिएको छ ।

पहिलो सेमिफाइनल खेलमा फाइनल प्रवेशका लागि आयोजक सयपत्री ‘बी’ र रमनटार एफसीबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो सेमिफाइनल खेलमा फाइनल प्रवेशका लागि आयोजक सयपत्री ‘ए’ र एफसी मिन्था क्लबबीच प्रतिस्पर्धा हुनेछ । सेमिफाइनल चरणको खेलहरु सम्पन्न भएपछि फाइनल प्रतिस्पर्धीको टुङ्गो लाग्नेछ ।

प्रतियोगिताबाट हेटौंडा फुटबल एकेडेमी, विजयुन एफसी, चितवन जिल्लाको भरतपुर महानगरपालिका, योगज्योति क्लब, बेलचोक, सुनादेवी एफसी मनहरी, एफसी सिम्पानी, लामिटार, कमलादेवी, सशस्त्र प्रहरी बलको एपीएफ, जय मनकामना, मिसन–८४, जनहित, लालीगुराँस नयाँबस्ती र राइनो एफसीका टिम बाहिरिइसकेको छ ।

२०७२ सालको भूकम्पमा परेर निधन भएका राना मगरको स्मृतिमा सयपत्री युवा क्लबले यस वर्षबाट प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताका लागि प्रथम पुरस्कारको प्रायोजन स्वर्गीय जोनका दाजु जकै राना मगरले गर्नुभएको छ भने द्वितीय पुरस्कारको प्रायोजन सुनाचुरी सामुदायिक वन उपभोक्ता समूहले गरेको बताइएको छ । प्रतियोगितालाई सफतापूर्वक सम्पन्न गर्नका लागि प्रहरी परिचालन, स्वयम्सेवकको व्यवस्था र मनोज जिम्बाको संयोजकत्वमा सुरक्षा व्यवस्था समिति गठन गरेको छ । प्रतियोगिताका लागि विभिन्न निकायहरुबाट सहयोग प्राप्त भएको आयोजक कमिटीले जानकारी दिएको छ ।

प्रतियोगिताको उपाधि विजेता टिमले ३० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले १५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै, विधागत खेलाडीहरु उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, हाइ स्कोरर, उत्कृष्ट फरवार्डलगायतका खलाडीहरुले २ हजार रुपैयाँ नगद राशिसहित ट्रफी प्राप्त गर्नेछन् । विभिन्न खेलाडीहरुलाई फुटबल खेलको महत्व बुझाउन, खेलाडीको प्रतिस्पर्धात्मक क्षमता बढाउन र खेलाडीहरुबीच भातृत्व कायम गराउनका लागि क्लबले प्रतियोगिता आयोजना गर्न सुरु गरेको बताएको छ । प्रतियोगितालाई निरन्तरता दिने आयोजक कमिटीको योजना रहेको छ । प्रतियोगिताको फाइनल खेल आउँदो सोमबार हुनेछ । प्रतियोगिताका लागि करिब १ लाख ३० हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।

Exit mobile version