Home मुख्य समाचार वनका कानुन तत्काल संशोधन गर्न संसदीय समितिको निर्देशन

वनका कानुन तत्काल संशोधन गर्न संसदीय समितिको निर्देशन

हेटौंडाः बागमती प्रदेशसभा अन्तर्गतको उद्योग, पर्यटन तथा वातावरण समितिले तत्काल वन तथा वातावरणसँग सम्बन्धित ऐन संशोधन गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । समितिको बुधबार बसेको बैठकले संघीय ऐनसँग बाझिएका प्रदेशका ऐनहरु तत्काल संशोधनका लागि व्यवस्था मिलाउन निर्देशन गरेको हो ।

समितिका सभापति आनन्दकुमार श्रेष्ठले वन तथा वातावरण संरक्षणका विषयहरु अति संवेदनशील भएकाले आवश्यक प्रक्रिया पूरा गरी ऐन संशोधनका लागि पेश गर्न र सोबारे समितिलाई जानकारी गराउन निर्देशन गरेका हुन । प्रदेश सरकारले २०७५ मा बनाएको प्रदेश वन ऐन संघीय सरकारले जारी गरेको राष्ट्रिय वन ऐनसँग बाझिएकाले हालसम्म कार्यान्वयनमा आउन सकेको छैन । ऐन कार्यान्वयनमा नआउँदा प्रदेश वन नियमावली निर्माण गर्न सकिएको छैन । नियमावली ड्राफ्ट भई मन्त्रालयमा नै थन्किएको छ ।

वन तथा वातावरणका संरचनाहरु अर्धन्यायिक निकाय भएकाले कानुनीरुपमा सशक्त र जिम्मेवार बनाउन ऐन संशोधनमा गम्भिर हुन बैठकले सुझाव दिएको छ । बैठकले कानुनी अप्ठेराका विषयहरु समाधान गर्न संघीय सरकारसँग आवश्यक समन्वय गरेर नयाँ ढंगबाट अघि बढ्न अनुरोध गरेको छ ।

समितिको बैठकले प्रदेशको मन्त्रालयले वन क्षेत्रका कार्यक्रमलाई मात्र प्राथमिकता दिएका र वातावरण संरक्षणका विषयहरु छुट्न गएकाले मन्त्रालयमा वातावरण महाशाखा र वन कार्यालयहरुमा शाखा खडा गर्न निर्देशन दिएको छ । बैठकले आधिकारिक संरचना खडा भएपश्चात् वातावरण क्षेत्रका विभिन्न कार्यक्रम र विषयहरु अघि बढाउन सहज हुने भएकाले आवश्यक व्यवस्थापन सहित महाशाखा र शाखा निर्माण गर्न निर्देशन दिएको हो ।

बैठकले मन्त्रालयमा आर्थिक अनुशासन र सुशासन कायम गर्न बेरुजु फछ्र्यौटमा गम्भिर हुन आग्रह गरेको छ । बेरुजुले कार्यसम्पादन मूल्यांकनमा समेत प्रभाव पार्ने भएकाले न्यूनीकरणमा जोड दिन आग्रह गरेको हो । बेरुजु न्यूनीकरणका लागि आवश्यक कार्ययोजना निर्माण गरेर अघि बढ्न बैठकले मन्त्रालयलाई सुझाव दिएको छ ।

Exit mobile version