Home मुख्य समाचार बागमती सरकारमा मन्त्री नियुक्तिमा कांग्रेसमा किचलो, मन्त्रालयको जिम्मेवारी विवादले रोकियो सपथ

बागमती सरकारमा मन्त्री नियुक्तिमा कांग्रेसमा किचलो, मन्त्रालयको जिम्मेवारी विवादले रोकियो सपथ

मन्त्रीको सपथ कार्यक्रमको तयारी गरेर प्रदेश प्रमुखको कार्यालयमा बसेका कर्मचारीहरु ।

हेटौँडाः बागमती प्रदेश सरकारमा मन्त्री नियुक्तिका विषयमा कांग्रेसमा किचलो चर्किएको छ । प्रदेशको १३ मन्त्रालय मध्ये मुख्यमन्त्री बाहेक ६ मन्त्रालयको भाग पाएको कांग्रेसले बिहिबार एक बिना विभागीयसहित ४ मन्त्रीको सपथ ग्रहण गर्ने तयारी गरेको थियो । तर, अन्तिम समयमा सपथ ग्रहण रोकियो ।

कांग्रेसले पाएको ६ मन्त्रालयमा बुधबार नै ३ मन्त्री नियुक्ति गरेको थियो । बिहिबार भने कांग्रेसले ४ मन्त्रीलाई सपथ ग्रहण गराउने तयारी गरेको थियो । कांग्रेसले जिम्मेवारीसहित सुरजचन्द्र लामिछाने, प्रभात तामाङ, मीनकृष्ण महर्जन र बिमल ठकुरीलाई मन्त्रीको सपथ ग्रहण गराउने गरी ५ः३० बजेको समय निर्धारण गरेको थियो ।

सोही अनुुसार उनीहरुको जिम्मेवारी समेत निर्धारण गरी मन्त्रीमा नियुक्त गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट मन्त्रीको सपथका लागि प्रदेश प्रमुख कार्यालयमा पत्राचार गरिएको थियो । प्रदेश प्रमुख कार्यालयले मन्त्रीको सपथका लागि कार्यभार तोके अनुसार सपथका लागि पत्र समेत तयार गरेको थियो । पत्रसहित सपथ ग्रहणका लागि हलमा प्रवेश गर्ने तयारी गर्दै गर्दा विवाद भएपछि कार्यक्रम रोकिएको थियो ।

प्रदेश प्रमुखको कार्यालयले तयार गरेको पत्रअनुसार बिहिबार नियुक्त हुनुभएका ठकुरीले संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय, लामिछानेले आन्तरिक मामिला तथा कानुन मन्त्रालय, तामाङले आर्थिक मामिला तथा योजना मन्त्रालय र महर्जनले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाउने भएका थिए ।

बुधबार नियुक्त भई सपथ गरेका कुन्दनराज काफ्ले, श्याम बहादुर खड्का र मदु कुमार श्रेष्ठको जिम्मेवारी समेत तोकिएको थियो । जसमा काफ्लेले सामाजिक विकास मन्त्रालय, खड्काले खानेपानी, उर्जा तथा सिंचाई मन्त्रालय पाउने गरी जिम्मेवारी तोकिएको थियो भने श्रेष्ठको जिम्मेवारी पछि तोकिने गरी बिना विभागीय मन्त्री बनाउने तय भएको थियो ।

उक्त निर्णयमा काफ्ले र श्रेष्ठले असहमति जनाएपछि सपथ ग्रहण कार्यक्रम भाँडिएको थियो । सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिने तयारी भएपछि काफ्ले मन्त्री पदमा नरहने निर्णयमा पुग्नुभयो । काफ्लेले पदबाट राजिनामा दिने बताउनुभयो । सरकार गठन ताका भौतिक पूर्वाधार विकास मन्त्रालयमा आकांक्षा राखेका काफ्लेले भागबण्डामा सो मन्त्रालय एमालेको भागमा परेपछि आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाउने निश्चित भएको थियो । कांग्रेस एमाले बीच भौतिक र आर्थिक मन्त्रालय साटफेर भएपछि काफ्ले आर्थिक मामिला तथा योजना मन्त्रालय पाउने पक्कापक्की भएको थियो । तर, बिहिबार आर्थिक मामिला मन्त्रालयमा प्रभात तामाङको नाम फाइनल भएपछि उहाँ सामाजिक विकास मन्त्रालयमा पर्नुभएको थियो ।

यता बिना विभागीय मन्त्री रहने निश्चित भएका श्रेष्ठले जिम्मेवारी नतोकेसम्म अघि बढ्न नहुने अडान कायम राख्नुभयो । जिम्मेवारी तोकेर अघि बढ्नु पर्ने उहाँको मागपछि मन्त्रीहरुको सपथग्रहण थप अन्योलमा परेको थियो । मन्त्री श्रेष्ठका अनुसार आकांक्षी धेरै भएकाले कांग्रेसमा मन्त्री नियुक्तिमा केही असहज भएको हो । मन्त्रीहरुको कार्यक्षेत्र निर्धारणका विषयमा कसैको पनि निर्धारण नभएको उहाँले बताउनुभयो ।

Exit mobile version