Home अर्थ/व्यापार बागमतीको नीति तथा कार्यक्रम सार्वजनिक, क्रसर उद्योग संचालन गर्ने

बागमतीको नीति तथा कार्यक्रम सार्वजनिक, क्रसर उद्योग संचालन गर्ने

आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान ।

बागमतीः पुर्वी मकवानपुरको बागमती गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सोमबार पालिकाका अध्यक्ष सर्केश घलानले १२ औं गाउँसभामा आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।

पालिकाले आगामी आर्थिक बर्षमा पालिका आफैँले क्रसर उद्योग संचालन गर्ने भएको छ । बागमती–५ मा संचालन हुने क्रसर उद्योगका लागि सम्पूर्ण प्रक्रिया पूरा भइसकेको अध्यक्ष घलानले बताउनुभयो । पालिकाको आर्थिक अवस्था वृद्धि गर्ने लक्ष्यका साथ क्रसर उद्योग संचालन गर्न लागिएको अध्यक्ष घलानले बताउनुभयो । क्रसर उद्योग पालिकाको विकासका लागि प्राथमिकता हुने उहाँले बताउनुभयो । पालिकाभित्र बन्ने सरकारी तथा निजी क्षेत्रको भौतिक संरचना गुणस्तरीय नबन्ने गरेको सन्दर्भमा यसले मद्दत पुर्याउने उहाँको भनाई छ । क्रसर उद्योगबाट तयारी गिट्टी बालुवा बेच्दा मूल्य पनि बढी पाउने र त्यसको लाभ पालिका र पालिकाभित्रका जनतालाई पुग्ने उहाँले बताउनुभयो ।

पालिकाले आगामी आर्थिक वर्षमा पूर्वाधारतर्फ १३ करोड ४० लाख रुपैयाँ, आर्थिक विकासतर्फ ४ करोड २५ लाख, सामाजिक विकासतर्फ ४ करोड २५ लाख, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा १ करोड १० लाख रुपैयाँ र संस्थागत विकास, कार्यालय संचालन तथा प्रशासनिक खर्चमा ११ करोड १२ लाख रुपैयाँ गरी स्रोत अनुमानबाट ३४ करोड १२ लाख रुपैयाँ बजेट सीमा निर्धारण गरेको छ ।

Exit mobile version